मकवानपुरको बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु
बागमती, ३० कात्तिक। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३–००५प ७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट करिब ५० फिट तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हाल हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएअनुसार, मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।