नेपालगञ्ज म्याराथनको उपाधि खड्का र न्यौपानेलाई

काठमाडौँ, मंसिर ६ । नेपालगञ्जमा आज सम्पन्न ११औँ नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका धावक खड्कबहादुर खड्काले जित्नुभएको छ ।

खड्काले निर्धारित ४२ किलोमिटरको दूरी २ घण्टा १५ मिनेट ८ सेकेण्डमा पूरा गर्नुभयो । गत संस्करणका विजेता समेत रहनुभएका खड्काले उपाधिसँगै २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा नेपाली सेनाकै सुशीलकुमार शाहीले २ घण्टा १६ मिनेट ४८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गर्नुभयो । त्यस्तै, सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी तेस्रो हुनुभयो। दोस्रो र तेस्रो हुनुभएका शाही र पार्कीले क्रमशः १ लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी, हाफ म्याराथनतर्फको महिला उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जित्नुभएको छ । पाँचौँ संस्करणकी विजेता समेत रहनुभएकी न्यौपानेले उपाधिसँगै ७५ हजार रुपैयाँ पुरस्कार हात पार्नुभयो । हाफ म्याराथनमा सशस्त्र प्रहरीकी फूलमती राना दोस्रो र आश्मा विश्वकर्मा तेस्रो हुनुभयो ।