निजीमा ‘आमा सुरक्षा’ कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा बिरामीको चाप : सेवा प्रवाहमा कठिनाइ
काठमाडौँ, मंसिर १० । बाँकेका प्रमुख निजी अस्पतालहरूले ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गर्न छोडेपछि नेपालगञ्जस्थित सरकारी भेरी अस्पतालमा प्रसूति सेवा लिनेहरूको भीड ह्वात्तै बढेको छ ।
चालु आर्थिक वर्षदेखि नेपालगञ्ज मेडिकल कलेज (कोहलपुर) र सञ्जीवनी अस्पताल (नेपालगञ्ज) ले सरकारको उक्त कार्यक्रम बन्द गरेपछि सेवाग्राहीहरू भेरी अस्पतालमा निर्भर हुनुपरेको हो। निजी अस्पतालको महँगो शुल्क तिर्न नसक्ने र सरकारीमा शल्यक्रियासहित औषधि उपचार निःशुल्क हुने भएकाले भेरीमा चाप अत्यधिक बढेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले बिरामीको चाप थामिनसक्नु भएको बताउनुभयो। उहाँका अनुसार अस्पतालले प्रसूतिका लागि ७५ शय्या छुट्याएको भए पनि हाल क्षमताभन्दा दोब्बर बिरामी आउने गरेका छन्। “सरकारी अस्पताल विपन्न र भुइँ मान्छेको भरोसाको केन्द्र हो, निजीमा चर्को शुल्क तिर्न नसकेपछि उहाँहरू यहाँ आउनु स्वाभाविक हो,” डा. सुवेदीले भन्नुभयो ।
चाप बढेसँगै अस्पतालले १८ वटा थप शय्या र केही पोस्टअप बेडको व्यवस्था गरे पनि त्यो पर्याप्त हुन सकेको छैन । कतिपय अवस्थामा शय्या अभावकै कारण भर्ना भएका बिरामीलाई समेत अन्यत्र पठाउनुपर्ने बाध्यता सिर्जना भएको मेसु सुवेदीले स्वीकार गर्नुभयो । हाल भेरीमा दैनिक सरदर २० देखि २५ वटा सामान्य प्रसूति र १२ वटा शल्यक्रिया हुने गरेको छ ।
भेरी अस्पतालको प्रसूति विभागकी प्रमुख वरिष्ठ चिकित्सक डा. उर्मिला पराजुलीले पछिल्लो समय बिरामीको ओइरो लागेको तर त्यसको तुलनामा पूर्वाधार र जनशक्ति न्यून रहेको बताउनुभयो। उहाँले बिरामीको चाप अनुसार सामान्य शय्या, पोस्टअप बेड र स्वास्थ्यकर्मीको सङ्ख्या तत्काल नबढाए सेवा प्रवाहमा गम्भीर समस्या आउन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।