अमेरिकामा नवजात शिशुको हेपाटाइटिस-बी खोप बारे विवाद

काठमाडौँ, मंसिर १८ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र वैज्ञानिक समुदायबीच जनस्वास्थ्यको विषयलाई लिएर गम्भीर द्वन्द्व सिर्जना भएको छ । ट्रम्प प्रशासनका स्वास्थ्यमन्त्री एवं खोपप्रति शङ्कास्पद दृष्टिकोण राख्ने रोबर्ट एफ. केनेडी जुनियरले गठन गरेको नयाँ सल्लाहकार समूहले नवजात शिशुहरूलाई दिइने ‘हेपाटाइटिस-बी’ खोपको तालिका पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिकहरूले तीव्र आपत्ति जनाएका छन् ।

केनेडीको प्रभावमा रहेको ‘खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति’ ले एटलान्टामा बिहीबारदेखि दुईदिने बैठक सुरु गरेको छ । बैठकको मुख्य एजेन्डा दशकौँदेखि सुरक्षित र अनिवार्य मानिँदै आएको हेपाटाइटिस-बी खोप नवजात शिशुलाई तत्काल दिने वा ढिलाइ गर्ने भन्ने विषयमा केन्द्रीत छ ।

केनेडीको नेतृत्वमा समितिले अन्य धेरै खोपहरूको पनि व्यापक समीक्षा गरिरहेको छ । खोप विज्ञानका स्थापित प्रमाणहरूप्रति केनेडी स्वयमको अविश्वास र विगतमा उहाँले दिँदै आएका खोपविरोधी अभिव्यक्तिहरूले गर्दा अमेरिकी वैज्ञानिक वृत्त चिन्तित बनेको छ। विज्ञहरूले खोपको दर घट्दा दादुरा लगायतका घातक रोगहरूको प्रकोप पुनः फैलिने र सन् २०२५ मा जस्तै सयौँले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

सङ्क्रामक रोग तथा बालरोग विशेषज्ञ सीन ओ’लेरीले समितिको नियत र योग्यतामाथि प्रश्न उठाउनुभएको छ । उहाँले भन्नुभयो, “एसिआइपीले गर्न खोजेको परिवर्तन कुनै तथ्य वा वैज्ञानिक प्रमाणमा आधारित छैन । यो केवल एक विचारधारामा आधारित राजनैतिक कदम हो ।”

सन् १९९१ देखि अमेरिकी स्वास्थ्य निकायहरूले नवजात शिशु जन्मिएको २४ घण्टाभित्र हेपाटाइटिस-बी खोप अनिवार्य रूपमा लगाउन सिफारिस गर्दै आएका छन् । यो खोपले बालबालिकालाई दीर्घकालीन कलेजो क्षति, सिरोसिस र कलेजो क्यान्सरजस्ता घातक रोगबाट जोगाउँछ । डा. ओ’लेरीले तथ्याङ्क प्रस्तुत गर्दै भन्नुभयो, “हेपाटाइटिस–बी बाट सङ्क्रमित ९० प्रतिशत नवजात बालकमा पुरानो कलेजो रोग देखिन्छ । जसमध्ये एक चौथाइको मृत्यु यही कारणले हुन्छ। समयमै खोप दिएर यी मृत्युहरू पूर्ण रूपमा रोक्न सकिन्छ।”

राष्ट्रपति ट्रम्प र उहाँका समर्थकहरूले यो खोप अभ्यासलाई पछाडि धकेल्ने प्रयास गरिरहेका छन् । गत सेप्टेम्बरमा ट्रम्पले ‘हेपाटाइटिस-बी यौन सम्बन्धबाट मात्र सर्ने रोग भएकाले १२ वर्षभन्दा मुनिका बालबालिकालाई खोप आवश्यक नभएको’ विवादास्पद तर्क गर्नुभएको थियो ।

चिकित्सकहरूले ट्रम्पको उक्त दाबीलाई ‘पूर्ण रूपमा गलत र खतरनाक’ भन्दै खण्डन गरेका छन्। उनीहरूका अनुसार शिशुहरू गर्भावस्था वा प्रसवका क्रममा आमाबाटै सङ्क्रमित हुन सक्छन् । खोपमा ढिलाइ गर्दा अमेरिकामा रहेको स्वास्थ्य सेवाको असमान पहुँचका कारण गरिब तथा सीमान्तकृत समुदायका बालबालिका उच्च जोखिममा पर्नेछन् ।

मिनेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ४०० भन्दा बढी अध्ययनहरूको समीक्षा गर्दै हेपाटाइटिस–बी खोप ढिलाइ गर्दा कुनै फाइदा नहुने र उल्टो गम्भीर स्वास्थ्य जोखिम निम्तिने निष्कर्ष निकालेका छन् । सङ्घीय दिशानिर्देशले नै बीमा कम्पनीहरूले खोपको खर्च व्यहोर्ने वा नव्यहोर्ने निर्धारण गर्छ । यदि एसिआइपीले खोप सिफारिस फिर्ता लिएमा लाखौँ अमेरिकी परिवारले महँगो शुल्क तिर्नुपर्ने हुन्छ ।

केनेडीको नेतृत्वप्रति अविश्वास बढ्दै जाँदा एसिआइपीको प्रभावकारिता र वैधतामा प्रश्न उठेको छ । डेमोक्रेटिक पार्टीको नेतृत्व रहेका धेरै राज्यहरूले सङ्घीय समितिको नयाँ सिफारिस नमान्ने घोषणा गरिसकेका छन् । बालरोग विशेषज्ञ पल अफिटले भन्नुभयो, “राज्यहरूले अब आफ्नै सल्लाहकार समिति गठन गर्न थालेका छन् । रोबर्ट एफ. केनेडी जुनियरजस्तो विज्ञान अस्वीकार गर्ने व्यक्तिको नेतृत्वमा भइरहेको प्रक्रियालाई उनीहरूले विश्वास गर्न सकेका छैनन् ।” उहाँका अनुसार, समितिको प्रत्येक बैठकले अब कुन नयाँ जोखिमपूर्ण प्रस्ताव ल्याउने हो भन्ने त्रासमा चिकित्सा जगत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *