ओखलढुङ्गाको रुम्जाटार अस्पतालमा ६७ वर्षपछि पहिलो शल्यक्रिया
काठमाडौँ, मंसिर १९ । ओखलढुङ्गाको रुम्जाटारस्थित जिल्ला अस्पतालले स्थापनाको ६७ वर्षपछि पहिलो पटक शल्यक्रिया सेवा सुरु गरेर ऐतिहासिक सफलता प्राप्त गरेको छ । वि.सं. २०१५ सालमा स्थापना भएको यस अस्पतालमा बुधबार बेलुकी पहिलो पटक ‘एपेन्डिक्स’को सफल शल्यक्रिया गरिएको हो ।
चिसङ्खुगढी गाउँपालिका-४ रातमाटेकी १७ वर्षीया अस्मिता विश्वकर्माको सफल शल्यक्रिया गरिएको हो । पेट दुखेर बुधबार अपराह्न ४ बजे अस्पताल आइपुगेकी अस्मिताको एपेन्डिक्सको समस्या देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो । अस्पतालका एमडीजिपी डा. सञ्जय पोखरेलको नेतृत्वमा रहेको चिकित्सक टोलीले यो शल्यक्रिया सम्पन्न गरेको हो ।
ऋण खोजेर डाक्टरको तलब, विशेषज्ञ सेवाको सुरुवात
लामो समयसम्म विशेषज्ञ चिकित्सकको अभावमा सामान्य उपचार र पोस्टमार्टममा सीमित यो अस्पतालमा डा. पोखरेल आएको चार महिना मात्र भएको छ । सरकारी दरबन्दी भए पनि मन्त्रालयले विशेषज्ञ डाक्टर नपठाएपछि अस्पताल व्यवस्थापन समितिले आफैं पहल गरेको थियो ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख टेकराज भट्टराईका अनुसार, विशेषज्ञ डाक्टर ल्याउन निकै सङ्घर्ष गर्नुपरेको थियो । उहाँले भन्नुभयो, “मन्त्रालयले डाक्टर नपठाएपछि हामीले आफैं खोज्यौं । डाक्टरको तलब खुवाउन एक सहकारीबाट ३ लाख रुपैयाँ ऋण समेत लिनुपर्यो ।”
हाल अस्पतालमा डा. पोखरेलसहित दुई जना एमबिबीएस डाक्टर, एक एनेस्थेसिया, दुई ओटी नर्स र अन्य प्राविधिक कर्मचारीहरू कार्यरत छन्। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले हालै विज्ञापन खुलाएकाले अब भने जनशक्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।
तीन जिल्लाको पुरानो केन्द्र
यो अस्पताल २०१५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना हुँदा ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका नागरिकको उपचारको केन्द्रविन्दु थियो । विशेषगरी तीन जिल्लाको पोस्टमार्टम सेवा यहीँ मात्र उपलब्ध थियो । तर, समयक्रमसँगै अन्यत्र अस्पताल बने पनि यहाँ विशेषज्ञ सेवा विस्तार हुन सकेको थिएन ।
हाल दैनिक औषत ७५ जना बिरामी आउने यस अस्पतालमा शल्यक्रिया सेवा सुरु भएपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन् ।