भक्तपुरमा प्रसिद्ध नीलबाराही र मल्लकालीन भैरव नाच सम्पन्न : तान्त्रिक विधिबाट जगाइएका थिए देवगण
भक्तपुर, १८ भदौ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधि र प्राचीन परम्पराअनुसार प्रदर्शन गरिने दुई ऐतिहासिक नाचहरू— बोडेको नीलबाराही र थिमिको भैरव (भैलः) नाच भव्य रूपमा सम्पन्न भएका छन् ।
मध्यपुरथिमि–८ बोडेमा सोमबार मध्यरातिदेखि सुरु भएको प्रसिद्ध नीलबाराही नाच तीन दिन र चार रातको निरन्तर प्रदर्शनपछि बिहीबार सम्पन्न भएको छ । बाजाको तालमा १९ जना देवगणहरूले बोडेका विभिन्न टोल र चोकमा पुगेर नृत्य प्रस्तुत गरेका थिए ।
नीलबाराही नाचका संरक्षक एवं वडाध्यक्ष रमेश थापा श्रेष्ठका अनुसार यो नाच जिब्रो छेड्ने जात्रापछिको बोडेकै सबैभन्दा ठुलो सांस्कृतिक उत्सव हो । नाचमा एक भैरव, चार बाराही, चार कुमारी, चार सिंह, दुई द्वारपाल र चार गणेश गरी १९ जना देवगणको समूह रहन्छ ।
यस नाचका नियमहरू अत्यन्तै कडा र चुनौतीपूर्ण मानिन्छन् । नाच अवधिभर देवगणले केही खान नहुने, बस्न नहुने, बोल्न नहुने र जुत्तासमेत लगाउन नहुने परम्परा छ । “देवगणहरू घण्टौँसम्म मुकुन्डो लगाएर नाच्नुपर्छ, यदि थकाइ लागेर बस्नै परेमा सहयोगी (ज्वकालु) को काख वा जिउमा अडेस लागेर मात्र बस्न मिल्छ,” स्थानीय वाद्यवादन विज्ञ भरत लुमद्योंले जानकारी दिनुभयो । यो नाच बोडेको नारायणथानबाट सुरु भई विभिन्न तीर्थस्थल हुँदै पुनः नारायणथानमै पुगेर विसर्जन हुने गर्दछ ।
त्यसै गरी, मध्यपुरथिमि–५ स्थित श्री गणेश सांस्कृतिक समाजको आयोजनामा भदौ १५ गतेदेखि सुरु भएको ऐतिहासिक भैरव नाच पनि सम्पन्न भएको छ । तान्त्रिक विधिबाट मुकुन्डोमा प्राणप्रतिष्ठा गरी देवगणहरूलाई जगाएर यो नाच नचाइने गरिन्छ ।
नाच व्यवस्थापन समितिका संयोजक विजय प्रजापतिका अनुसार ३२ मध्ये हाल प्रचलित २७ वटा बाजाको तालमा ‘भैलः खायगु’ (भैरव जाग्ने) प्रक्रिया सुरु भएपछि देवगणहरूले दैनिक चार घण्टासम्म उग्र रूपमा नाच प्रस्तुत गरेका थिए ।
यस नाचमा चण्डिका (न्हापा भैलः), बटुक भैरव (लिपा भैलः), कुमारी (न्हापा दागी), महालक्ष्मी (लिपा दागी) र ज्यापुंगःचा (हरिसिद्धि) गरी पाँच मुख्य पात्रहरू रहन्छन् । प्राचीन कालमा नगरमा भूतप्रेत र पिशाचले दिएको दुःखबाट मुक्ति पाउन एक तान्त्रिकले यो नाच सुरु गराएको र त्यसपछि नगर सुरक्षित भएको धार्मिक जनविश्वास रहेको छ ।
यी दुवै मौलिक नाचहरू सम्पन्न भएसँगै मध्यपुरथिमिमा गाईजात्रापछिको विशेष रौनक केही शान्त भएको छ । स्थानीय समुदायले आफ्नो परम्परा र संस्कृतिलाई जीवन्त राख्न देखाएको यो सक्रियताको चौतर्फी प्रशंसा भइरहेको छ ।
