अमेरिकी अनिश्चितताका बीच नेदरल्याण्ड्सले सार्यो १० अर्ब डलरको सुन, लण्डनलाई बनायो नयाँ सुरक्षित गन्तव्य

 

एम्स्टर्डम । विश्वव्यापी भू-राजनीतिक तनाव र बढ्दो आर्थिक अनिश्चितताका बीच नेदरल्याण्ड्सले अमेरिका र क्यानडामा रहेको आफ्नो अर्बौँ डलर बराबरको सुनको भण्डार स्थानान्तरण गरेको छ। डच केन्द्रीय बैंक (DNB) ले अमेरिकाबाट करिब १० अर्ब डलर मूल्यको सुन निकालेर संयुक्त अधिराज्य (बेलायत) पुर्‍याएको हो।

बुधबार एक विज्ञप्ति जारी गर्दै डच केन्द्रीय बैंकले “भविष्यमा आउन सक्ने गम्भीर संकटको सामना गर्न पूर्वतयारी स्वरूप” सुन सारिएको जनाएको छ। बैंकले कुन प्रकारको संकट भन्न खोजेको हो भन्ने स्पष्ट नपारे पनि जानकारहरूले यसलाई अमेरिकाको वर्तमान आक्रामक वैदेशिक नीति र व्यापारिक युद्धसँग जोडेर हेरेका छन्।

बदलिँदो भण्डारण अनुपात
नेदरल्याण्ड्ससँग हाल कुल ६१२.४ टन सुनको भण्डार छ, जसको बजार मूल्य करिब ८३.८ अर्ब अमेरिकी डलर पर्छ। यसअघि न्यूयोर्कमा कुल भण्डारको ३१.३ प्रतिशत सुन राखिएकोमा अहिले त्यसलाई घटाएर १८.५ प्रतिशतमा झारिएको छ। त्यसैगरी, लण्डनमा रहेको भण्डारलाई १८.१ प्रतिशतबाट बढाएर ३२.१ प्रतिशत पुर्‍याइएको छ। क्यानडाको ओटावामा रहेको भण्डार पनि १९.७ प्रतिशतबाट घटाएर १८.५ प्रतिशत बनाइएको छ।

सुन सार्नुको कारण: भू-राजनीति र ‘सिस्टमेटिक रिस्क’
डच बैंकले लण्डनलाई सुनको व्यापारका लागि सजिलो र सुरक्षित स्थान मानेको छ। विज्ञहरूका अनुसार, अमेरिका र क्यानडाबीच जारी व्यापारिक युद्ध, अमेरिका-इरान युद्ध र भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपका कारण युरोपेली राष्ट्रहरू अमेरिकामा आफ्नो सम्पत्ति सुरक्षित राख्न डराइरहेका छन्।

विशेष गरी, युक्रेन युद्धपछि पश्चिमा देशहरूले रुसको ३०० अर्ब डलरको सम्पत्ति रोक्का गरिदिएपछि धेरै देशहरूले अन्य राष्ट्रको केन्द्रीय बैंकमा आफ्नो भण्डार राख्नु जोखिमपूर्ण हुने महसुस गर्न थालेका छन्। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा युरोपेली मित्र राष्ट्रहरूसँगको सम्बन्ध चिसिएको छ। ट्रम्पले इरानविरुद्धको युद्धमा युरोपले सहयोग नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

कसरी सारियो सुन?
बैंकले दुई तरिकाले सुन स्थानान्तरण गरेको जनाएको छ। पहिलो, न्यूयोर्कमा ५९ टन सुन बिक्री गरेर सोही बराबरको सुन लण्डनमा खरिद गरियो। दोस्रो, अमेरिका र क्यानडाबाट २७ टन सुनका इँटाहरू (Gold Bars) भौतिक रूपमै जहाजमार्फत नेदरल्याण्ड्सको जेइस्ट (Zeist) पुर्‍याइयो।

अन्य देश पनि फिर्ता लैजाँदै
अमेरिकाबाट आफ्नो सुन फिर्ता लैजानेमा नेदरल्याण्ड्स एक्लो मुलुक भने होइन। यसै वर्षको जनवरीमा फ्रान्सले पनि न्यूयोर्कबाट १२९ टन सुन फिर्ता लगेको थियो। त्यसैगरी, जर्मनीले सन् २०१३ देखि २०१७ को बीचमा ६०० टनभन्दा बढी सुन न्यूयोर्कबाट फ्र्यांकफर्ट सारेको थियो।

यस कदमले विश्वका प्रमुख शक्ति राष्ट्रहरूबीचको आपसी विश्वास कमजोर हुँदै गएको र राष्ट्रहरू आफ्नो वित्तीय सुरक्षाका लागि आत्मनिर्भर बन्न खोजेको संकेत गरेको छ।