भन्सार एजेन्टको आन्दोलनले जाँचपास ठप्प, आयात-निर्यातमा गम्भीर असर

पर्सा, २४ मङ्सिर । मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्जमा भन्सार एजेन्टहरूले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि भन्सार जाँचपासको काम ठप्प भएको छ। मङ्सिर २० गतेदेखि लागू भएको ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२’ का केही प्रावधानहरूमा विमति जनाउँदै एजेन्टहरू आन्दोलित भएका हुन्। उनीहरूको आन्दोलनका कारण आयात-निर्यातको प्रक्रियामा गम्भीर अवरोध सिर्जना भएको छ।

मङ्गलबार वीरगञ्ज भन्सार कार्यालयमा पेट्रोलियम पदार्थको जाँचपासबाहेक अन्य सबै प्रकारका मालसामानको जाँचपास पूर्ण रूपमा ठप्प रह्यो। यसले गर्दा भन्सारमा मालवाहक सवारी साधनको लामो लाइन लागेको छ भने व्यवसायीहरू मर्कामा परेका छन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले नयाँ भन्सार ऐन, २०८२ ले सिर्जना गरेका समस्याहरूको तत्काल समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “नयाँ ऐनका केही बुँदाहरू अव्यावहारिक छन्, जसले व्यवसायी र भन्सार एजेन्ट दुवैलाई मर्कामा पारेको छ। सरकारले वार्ताको माध्यमबाट यसको समाधान खोज्नुपर्छ।”

यता, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले आन्दोलनका कारण उत्पन्न समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए। उनले आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा आफू आशावादी रहेको  बताए। 

भन्सार एजेन्टहरूले नयाँ ऐनमा भएका कतिपय प्रावधानहरूले आफूहरूको पेशागत सुरक्षामाथि प्रश्न उठाएको र कार्यसम्पादनमा जटिलता थपेको गुनासो गरेका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। यस आन्दोलनले मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने चिन्ता व्यक्त गरिएको छ।