निर्वाचन सफल बनाउन प्रहरीको भूमिका प्रशंसनीय : आईजीपी कार्की

काठमाडौँ, २६ फागुन । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ।

नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सोमबार आयोजित विशेष कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी अधिकृत तथा जवानहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले निर्वाचन सुरक्षामा प्रहरीको सक्रियताले सङ्गठनको छवि र गरिमामा महत्त्वपूर्ण योगदान पुगेको बताउनुभयो।

प्रहरी महानिरीक्षक कार्कीले सीमित स्रोतसाधन र भौतिक पूर्वाधारको अभावका बीच पनि प्रहरीले ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गर्नुभयो। “पछिल्लो समय प्रहरीको मनोबल र क्षमतालाई लिएर विभिन्न खालका अभिव्यक्तिहरू सार्वजनिक भइरहेका बेला सम्पूर्ण प्रहरी कर्मचारीले उच्च व्यावसायिकता र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गरेका छन्,” उहाँले भन्नुभयो, “सामूहिक भावना र दृढ इच्छाशक्तिले नै निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन सम्भव भएको हो।”
उहाँले प्रहरीको अथक सक्रियताका कारण नै समाजमा शान्ति सुरक्षाको प्रत्याभूति भएको भन्दै योजनाबद्ध कार्यसम्पादनका लागि सबै तहका प्रहरी कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभयो।

प्रहरी सेवालाई केवल रोजगारीका रूपमा मात्र नलिन आग्रह गर्दै आईजीपी कार्कीले यसलाई सेवाभाव, इमानदारी र अनुशासनको संगमका रूपमा व्याख्या गर्नुभयो। उहाँले आगामी दिनमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साङ्गठनिक लक्ष्य प्राप्तिका लागि कटिबद्ध हुन निर्देशन दिनुभयो।
सुरक्षा व्यवस्थापनलाई आगामी दिनमा थप मजबुद र भरपर्दो बनाउन सबै निकायसँगको सहकार्य र समन्वयमा जोड दिँदै उहाँले भ्रातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्नुपर्ने बताउनुभयो।