५ महिनामै साढे २२ करोडको अवैध सामान बरामद
काठमाडौँ, मंसिर २७ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले राजस्व चुहावट र चोरी तस्करी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । चालु आर्थिक वर्षको करिब पाँच महिनाको अवधिमा सशस्त्र प्रहरीले सीमा नाकामा कडाइ गरेसँगै अवैध कारोबार नियन्त्रणमा प्रभावकारी नतिजा देखिएको हो ।
गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टका अनुसार चालु आर्थिक वर्षको हालसम्म भन्सार छली गरेर नेपाल भित्र्याइएका १३ करोड ६२ लाख ७२ हजार रुपैयाँ बराबरको सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी, बिलविजकभन्दा बढी मूल्यका ८ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ। गत आर्थिक वर्षभरिमा राजस्व अनुसन्धानमा करिब १२ करोडको सामान बुझाइएकोमा यस वर्ष ५ महिनामै करिब साढे ८ करोडको सामान बुझाइएको तथ्याङ्कले सशस्त्रको सक्रियता पुष्टि गर्दछ ।
सशस्त्र प्रहरीले सीमामा २४ सै घण्टा गस्ती र तालिमप्राप्त कुकुरको प्रयोग गरी निगरानी बढाउँदा वीरगञ्ज भन्सारको राजस्व सङ्कलनमा समेत सुधार आएको छ। वीरगञ्ज भन्सारले चालु आवको चार महिनामा ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत (८ अर्ब ७६ करोड) ले बढी हो । एसपी भट्टले भन्नुभयो, “बेमौसमी वर्षा, जेनजी प्रदर्शन र भारतको बिहार राज्यको विधान सभा चुनावजस्ता चुनौतीका बाबजुद पनि राजस्व सङ्कलन र चोरी निकासी नियन्त्रणमा हामीले उत्साहजनक प्रगति हासिल गरेका छौँ ।”
५ महिनाको अवधिमा ३५० केजी गाँजा र ३०.९८ केजी चरेस बरामद, एक थान कटुवा पेस्तोलसहित दुई जना पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा र विपद् उद्धार: गत असोज १८ र १९ गतेको बाढी डुबानमा सुत्केरी महिलालगायत सर्वसाधारणको उद्धारमा काम गरेको छ ।
पर्सा जिल्लाको १०७ किलोमिटर खुला सीमानाका कारण हुने चुनौतीलाई चिर्दै सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिरहेको एसपी भट्टले बताउनुभयो ।