माधव नेपाल विरूद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ आज हुँदै, पेसी सूचीकाे ३ नम्बरमा
काठमाडौँ, २९ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल विरूद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुने भएको छ। सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा उनको सुनुवाइ हुन लागेको हो। यो मुद्दा आजको पेसी सूचीमा ३ नम्बरमा राखिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गा खरिद गर्न अनुमति दिने र पछि सोही जग्गा बिक्री गर्नसमेत दिएको आरोप अख्तियारले लगाएको छ।
विवरणअनुसार, २०६६ माघ १८ गते मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो। त्यसैगरी, २०६६ चैत ६ गते पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको थियो। सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।
अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको थियो। प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।