महोत्तरीमा बढ्दो चिसो र शीतलहरले विपन्न बस्तीको जनजीवन कष्टकर, यातायात प्रभावित

महोत्तरी, ६ पुस । मङ्सिरभर सामान्य रहेको महोत्तरीको मौसम पुस सुरु भएसँगै एकाएक फेरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा गत बुधबार र उत्तरी क्षेत्रमा शुक्रबारदेखि सुरु भएको बाक्लो हुस्सु र चिसो सिरेटोले जनजीवन अत्यन्त कष्टकर बनाएको छ । विशेषगरी जिल्लाका अति पिछडिएका र विपन्न दलित बस्तीहरू चिसोको प्रत्यक्ष मारमा परेका छन् ।

जाडो बढेपछि मुसहर, डोम, हलखोर र मेस्तर समुदायका सुकुम्वासी बस्तीमा बिजोग सुरु भएको छ । न्यानो लुगा र दाउराको अभावमा स्थानीय बासिन्दा सडकमा फालिएका झुत्रा लुगा, प्लास्टिक र झित्राझिक्री बालेर ‘घुर’ ताप्न बाध्य छन् । “दाउरा कतै पाइँदैन, कोही हेर्न आउँदैनन्,” भङ्गाहा–४ की हेमनी सदा मुसहरले भनिन्, “यही घुरको धुवाँ तापेर जाडो काट्नु परेको छ ।” श्रमिकहरू चिसोका कारण काममा निस्कन नसक्दा दैनिक छाक टार्न समेत समस्या हुन थालेको छ ।

बाक्लो हुस्सुका कारण सडक तथा हवाई यातायात सेवा प्रभावित भएको छ । जनकपुर विमानस्थलमा मध्याह्नसम्म हुस्सु नफाट्दा उडानहरू समयमा हुन सकेका छैनन् भने सडकमा सवारी साधनहरू हेडलाइट बालेर मन्द गतिमा चल्न बाध्य छन् । बजारमा मानिसहरूको चहलपहल घटेको छ भने कृषि कार्य समेत प्रभावित भएको छ । ८५ वर्षीय हाजी विहारी अन्सारी भन्छन्, “अहिले नै जाडोले धर्मराएको छ, माघ १५ सम्म कस्तो हुने हो भन्ने पिरलो छ ।”

स्वास्थ्य कार्यालयले चिसो बढेसँगै वृद्धवृद्धा, सुत्केरी र बालबालिकाको विशेष ख्याल गर्न आग्रह गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले फोहर र प्लास्टिक बालेर आगो ताप्दा निस्कने धुवाँले श्वासप्रश्वासको समस्या निम्त्याउने भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको छ । स्वास्थ्य संस्थाहरूले तातो र झोलिलो खानेकुरा खान तथा न्यानो ठाउँमा बस्न सर्वसाधारणलाई सूचित गरेका छन् ।

चिसोले बर्सेनि हुने जनधनको क्षति रोक्न जिल्ला समन्वय समितिले १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिलाई पूर्वतयारीका लागि आग्रह गरेको छ । समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्णले समयमै राहत र दाउराको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको छ । यस्तै, सामाजिक सङ्घसंस्थाहरूले पनि विपन्न बस्तीमा न्यानो लुगा र खाद्यान्न सहयोगका लागि पहल थाल्न स्थानीय सरकारसँग माग गरेका छन् ।