एमाले सचिवालय बैठक च्यासलमा सुरु : समानुपातिक उम्मेदवारको सूचीलाई अन्तिम रूप दिइने
काठमाडौँ, १३ पुस । नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
एमालेको ११ औँ महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । आसन्न निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची तयार पार्नु यस बैठकको मुख्य एजेन्डा रहेको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलि (पुस १४ गते) सम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम समयसीमा तोकेको छ । सोही समयसीमाभित्रै उम्मेदवारहरूको टुङ्गो लगाउन एमालेले आज सचिवालय बैठक बोलाएको हो ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समानुपातिक उम्मेदवारको चयनका अतिरिक्त समसामयिक राजनीतिक परिस्थिति र निर्वाचनको समग्र तयारीका विषयमा समेत छलफल हुनेछ ।
आजको बैठकले अन्तिम रूप दिएको सूचीलाई भोलि निर्वाचन आयोगमा दर्ता गराउने एमालेको तयारी छ ।