मानुङ-पुलिमराङ अल्ट्रा म्याराथन

खेल पर्यटनमार्फत मगर र गुरुङ गाउँ जोडिँदै

काठमाडौँ, पुस १९ ।  तनहुँको व्यास नगरपालिकाले ‘सहिद दिवस’ को अवसर पारेर आगामी माघ १६ गते ऐतिहासिक ‘मानुङ-पुलिमराङ अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ । खेलकुदको माध्यमबाट स्थानीय मगर र गुरुङ समुदायका बस्तीहरूलाई पर्यटनसँग जोड्ने र सहिदहरूको सम्मान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले म्याराथनको व्यवस्थापनका लागि खेलकुद समितिलाई जिम्मेवारी दिँदै तयारी तीव्र पार्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार, खेल पर्यटनका माध्यमबाट दुई महत्त्वपूर्ण पर्यटकीय तथा ऐतिहासिक स्थललाई एकापसमा जोड्नु यस कार्यक्रमको मुख्य लक्ष्य हो ।

व्यास नगरपालिका-५ स्थित पर्यटकीय स्थल मानुङकोटबाट सुरु हुने यो म्याराथन ४४ किलोमिटरको दूरी पार गर्दै व्यास-८ स्थित सहिदभूमि पुलिमराङ पुगेर समापन हुनेछ । यस दौडले नगरपालिकाका ६ वटा वडाहरूलाई समेट्नेछ । धावकहरू मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे, चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँ डिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा भएर पुलिमराङ पुग्नेछन् ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले यो प्रतियोगिता केवल खेलकुदमा मात्र सीमित नभई नगरको समग्र विकास र पर्यटन प्रवर्द्धनको अभियान भएको बताउनुभयो । “हामी खाली खेलाडी दौडाउन मात्र चाहँदैनौँ, यहाँको संस्कृति र प्राकृतिक सौन्दर्यलाई विश्वभर चिनाउन चाहन्छौँ,” न्यौपानेले भन्नुभयो, “मानुङकोटमा पर्यटकीय पूर्वाधार बनिसकेका छन्, अब हाम्रो ध्यान पुलिमराङसम्मको पहुँच मार्गलाई कालोपत्र गरी त्यहाँ पनि पर्यटक पुर्‍याउनेतर्फ केन्द्रित छ ।”

म्याराथनको प्रस्थान विन्दु मानुङकोट पछिल्लो समय सूर्योदय र कुहिरो हेर्नका लागि देशकै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । जहाँबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण र मनास्लु जस्ता हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

त्यसैगरी, म्याराथनको गन्तव्यस्थल पुलिमराङ एक ऐतिहासिक ‘सहिदभूमि’ हो । जहाँ विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने ६ जना सहिदहरू-भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको स्मृतिमा सहिद पार्क र सालिकहरू निर्माण गरिएका छन् ।

यस प्रतियोगिताले ओझेलमा परेका ऐतिहासिक स्थलहरूको प्रचार गर्ने र स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउने विश्वास नगरपालिकाले लिएको छ । म्याराथनका दिन स्थानीय संघसंस्था, जातीय संगठन र टोल विकास संस्थाहरूलाई समेत परिचालन गरी सांस्कृतिक उत्सवका रूपमा मनाइने तयारी गरिएको छ ।