विश्वकप उपविजेता नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाडौँ महानगरद्वारा नगदसहित सम्मान
काठमाडौँ, पुस २० । काठमाडौँ महानगरपालिकाले ‘फस्ट विमेन्स टीट्वान्टी वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५’ मा उपविजेता बन्न सफल नेपाली टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आइतबार आयोजित एक विशेष समारोहका बीच महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले टोलीलाई सम्मान गर्नुभएको हो ।
गत कात्तिक २४ गतेदेखि मङ्सिर ७ गतेसम्म भारत र श्रीलङ्कामा आयोजना भएको उक्त विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल उपविजेता बनेको थियो । क्रिकेट एशोसिएसन फर द ब्लाइन्ड इन इन्डियाले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।
महानगर प्रमुख शाहले नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । पुरस्कार स्वरूप टोलीका प्रत्येक खेलाडीले १ लाख रुपैयाँ र व्यवस्थापकहरूले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले नेत्रहीन महिला क्रिकेट टोलीलाई आगामी दिनमा आवश्यक पर्ने व्यवस्थापकीय सहयोग महानगरले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेलले खेलाडी र दर्शकलाई भावनात्मक रूपमा जोड्छ । यस खेलको विकासका लागि महानगरले नियमित रूपमा काम गर्नेछ ।”
टोलीकी कप्तान गीता पौडेलले सरकारको तर्फबाट प्राप्त यो पहिलो सम्मान भएको बताउँदै यसले खेलाडीमा ठुलो उत्साह थपेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा लागि खेल अभ्यास गर्ने मैदानको खाँचो छ । महानगरले आवश्यक पूर्वाधार उपलब्ध गराउनेमा हामी विश्वस्त छौँ ।” त्यस्तै, टोली नेता पवन घिमिरेले महानगरलाई ‘पारा स्पोर्ट्स एकेडेमी’ निर्माणका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नवीन मानन्धर, सामाजिक विकास समितिका सदस्यहरू, कार्यपालिका सदस्यहरूका साथै प्रशिक्षक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।
उपविजेता टोलीमा कप्तान गीता पौडेल र उपकप्तान विनिता पुनसहित सुष्मा तामाङ, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाई, कान्ती चौधरी, विमला राई, सुजिता थापा, एन्जिला ढकाल र सुनिता भुजेल रहनुभएको छ । टोलीलाई मुख्य प्रशिक्षक पुरनसिंह खत्री, सहप्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल र सहव्यवस्थापक भावना केसीले प्रशिक्षण तथा व्यवस्थापन गर्नुभएको थियो ।