विश्वकप टि२० ट्रफी नेपालमा
काठमाडौँ, २१ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले टि २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विश्वकप ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो ।
“नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उहाँको भनाई थियो ।
नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिनुभएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । “नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस्, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्वकपमा सहभागी हुने हाम्रा महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
नेपालमा ल्याइएको विश्वकप ट्रफी मङगलबार विहान पोखरामा प्रदर्शनी गरिने छ । सोही दिन दिउँसो ४ बजे बसन्तपुर दरवार क्षेत्रमा प्रदर्शनी ल्याइने छ । यसैगरी बुधबार बौद्धनाथ स्तूपा परिसरमा विश्वकप ट्रफी प्रदर्शनी गरिनेछ । ट्रफी टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।