नोर्बु नेपालका प्रथम श्रेणीको अन्तराष्ट्रिय पुम्से रेफ्री
काठमाडौँ, पुस २६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो सहायक मुख्य प्रशिक्षक नोर्बु लामा प्रथम श्रेणीको अन्तराष्ट्रिय पुम्से रेफ्री बन्ने पहिलो नेपालीको गौरव हासिल गर्नुभएको छ ।
सन् २०१० मा अन्तर्राष्ट्रिय रेफ्रिको दोस्रो श्रेणीमा बढुवा भएका लामा २०२५ को डिसेम्बर ३१ तारिखमा प्रथम श्रेणीमा बढुवा हुनुभएको छ । अन्तर्राष्ट्रिय रेफ्रीमा दोस्रो श्रेणीबाट प्रथम श्रेणीमा बढुवा हुन विश्व तेक्वान्दो महासंघको नियमा अनुसार जी– १ तथा जी– २ अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्तराष्ट्रिय रेफ्री रिफ्रेसर कोर्षमा सहभागी भई आठ अङ्क प्राप्त गर्नुपर्छ ।
नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाका अनुसार अस्ट्रेलिया, दक्षिण कोरिया, दुवई, मलेसिया, हङकङ, भारत र इन्डोनेसियमा भएको जी–२ प्रतियोगिता एवं रिफ्रेसर कोर्षमा सहभागी भएपछि लामाले आवश्यक अङ्क बनाउनुभएको हो । लामाले विश्व तेक्वान्दो हेडक्वाटरबाट ७औं डान ब्ल्याकबेल्ट प्राप्त गर्नुभएको छ ।
लामाले इन्डोनेसियमा भएको १८ औं एसियाली खेलकुद तथा सन् २०१० मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली राष्ट्रिय तेक्वान्दो पुम्से टिमको प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । १३ औं सागमा तेक्वान्दोले जितेको कुल १२ स्वर्ण मध्ये ७ स्वर्ण पदक पुम्से विद्याबाट प्राप्त भएको थियो ।