सगरमाथा फुटबल एकेडेमीको विन्टर क्याम्प
काठमाडौँ, पुस २८ गते । सगरमाथा फुटबल एकेडेमीको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आएको विन्टर क्याम्प आइतबार सुरु भएको छ ।
एक हप्ता हुने सो फुटबल क्याम्प यु–५ देखि यु–१४ उमेर समूहका बालबापिलकालाई लक्ष्यित गरी आयोजना गरिएको हो । यस क्याम्पको उद्देश्य सानै उमेरदेखि फुटबलको आधारभूत सीप विकास गर्नु र प्रतिभावान खेलाडीको पहिचान गर्नु रहेको छ।
विन्टर क्याम्पअवधिभर अनुभवी तथा प्रमाणित प्रशिक्षकहरूको नेतृत्वमा आधारभूतदेखि उन्नत स्तरसम्मको व्यावसायिक फुटबल प्रशिक्षण प्रदान गरिनेछ । साथै, आर्थिक रूपमा कमजोर तथा प्रशिक्षण खर्च व्यहोर्न असमर्थ बालबालिकालाई निःशुल्क प्रशिक्षणको व्यवस्था समेत गरिएको एकेडेमीले जनाएको छ।
एकेडेमीका उपाध्यक्ष यमन श्रेष्ठले भने “फुटबल सबैका लागि हो भन्ने मान्यताका साथ हामी हरेक वर्ष यो विन्टर क्याम्प आयोजना गर्दै आएका छौँ। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पनि समान अवसर प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो।”
सगरमाथा फुटबल एकेडेमीले समावेशी खेलकुद संस्कृतिको प्रवद्र्धन गर्दै भविष्यका सम्भावित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।