एन्फा निर्वाचन प्रक्रियामा अदालतको रोक: तत्काल कुनै पनि काम अघि नबढाउन आदेश

काठमाडौँ, २८ पुस । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आगामी निर्वाचन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले सोमबार यस्तो आदेश दिँदै निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

इजलासले निर्वाचनको तयारी अन्तर्गतका उम्मेदवारी दर्ता, फारम वितरण लगायतका कुनै पनि कार्य नगर्न र नगराउन विपक्षीको नाममा स्पष्ट पारेको छ । “उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ,” आदेशमा उल्लेख छ ।
यसअघि एन्फाले आगामी माघ २८ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उनले वर्तमान कार्यसमितिको कार्यकाल आगामी असार ४ गतेसम्म बाँकी रहेको भन्दै कार्यकाल नसकिँदै अग्रिम चुनाव गर्न खोज्नु नियमसम्मत नभएको दाबी गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन प्रक्रियामा ‘ब्रेक’ लगाएको हो ।

अदालतले यस विषयमा दुवै पक्षसँग छलफल गर्न आगामी माघ ६ गतेका लागि पेशी तोकेको छ । त्यसैगरी, विपक्षीहरूलाई सूचना पाएको १५ दिनभित्र आफैँ वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न समेत आदेश दिइएको छ ।

अदालतको यो आदेशसँगै माघ २८ गतेका लागि तय गरिएको एन्फाको चुनावी सरगर्मी तत्कालका लागि साम्य भएको छ भने फुटबल सङ्घभित्रको आन्तरिक विवाद पुनः कानुनी उल्झनमा फसेको छ ।