दशौँ राष्ट्रिय खेलकुद

‘मितिको मात्र भर नपर्नुस्, ठोस तयारीमा लाग्नुस्’ – मुख्यमन्त्री कँडेल

काठमाडौँ, पुस २९ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाका लागि केवल मिति तोकेर मात्र नहुने भन्दै संघीय सरकारलाई ठोस तयारीमा जुट्न आग्रह गर्नुभएको छ । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासहितको टोलीसँग भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। यद्यपि, संघीय सरकारले आवश्यक पूर्वतयारीमा ढिलाइ गरेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले संघीय सरकारले पटक-पटक मिति सार्ने तर तयारी नगर्ने प्रवृत्तिले नागरिकमा अन्योल बढेको बताउनुभयो । “खेल खेलाउने गरी आउनुस्, हामी पूर्ण सहयोग गर्छौँ । तर मिति मात्र तोकेर नागरिकलाई झुक्याउने काम नगर्नुस्,” उहाँले भन्नुभयो, “अहिलेसम्म खेल सामाग्री खरिदको प्रक्रियासमेत सुरु भएको छैन, यस्तो अवस्थामा आगामी फागुनमा कसरी खेल सम्भव हुन्छ ?”

उहाँले थप जोड दिँदै भन्नुभयो, “कर्णालीमा खेल उद्घाटन गर्ने र बाँकी खेलहरू अन्यत्र लैजाने कुरा प्रदेश सरकारलाई स्वीकार्य छैन। प्रतियोगिता कर्णालीकै माटोमा सम्पन्न हुनुपर्छ ।”

जवाफमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले १०औँ राष्ट्रिय खेलकुदको तयारी भइरहेको दाबी गर्दै यसलाई भव्य बनाउन प्रदेश सरकारको समन्वय र सहयोग अनिवार्य रहेको बताउनुभयो । उहाँले मन्त्रालय प्रतियोगिता सञ्चालनका लागि प्रयासरत रहेको जानकारी दिनुभयो ।

छलफलमा कर्णाली प्रदेशका वन तथा वातावरणमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाई र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताको समेत उपस्थिति रहेको थियो ।