एमाले सचिवालय बैठक भोली बस्ने, प्रत्यक्षतर्फका उम्मेद्वारकाे नाम पनि टुंग्याइने

काठमाडौं, २ माघ । फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोली माघ ३ गते दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार मनोनयनको कार्यक्रम भएकोले एमालेले भोली ३ गते उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यस अघि नै उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन् । जस अनुसार अध्यक्ष केपी शर्मा ओली सहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ ।

हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेद्वार अघि बढाउने भएको छ । शाहीका अनुसार दुर्ग भेकमा रहेका उम्मेद्वारहरुलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले भोली सचिवालय बैठक बसेर उम्मेद्वारी टुंग्याउन लागेको हो ।

यस अघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेद्वार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।