कञ्चनपुरमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु

काठमाडौँ, माघ ३ । कञ्चनपुरको महेन्द्रनगरमा प्रधानमन्त्री कप पुरुष क्रिकेटको जिल्लास्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा बुधबारदेखि महेन्द्रनगरस्थित खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा नगरप्रमुख लिम्बुले क्रिकेट खेलको विकास र विस्तारका लागि नगरपालिकाले सधैँ आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दका अनुसार छनोटका लागि कुल ६० जना खेलाडीले नाम दर्ता गराएका थिए । ती खेलाडीहरूलाई समेटेर चार वटा टोली बनाइएको छ । ५० ओभरको ढाँचामा सञ्चालन हुने यस प्रतियोगितामा चार टोलीबीच ६ वटा लिग खेलहरू हुनेछन् ।

यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छनोट गरी कञ्चनपुर जिल्लाको टोली तयार पारिनेछ । सोही टोलीले आगामी फागुनमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष चन्दले जानकारी दिनुभयो ।