मुस्ताङमा तीन वर्षदेखि परेन हिउँ: स्याउ खेती र पर्यटन संकटमा, किसान चिन्तित
मुस्ताङ, ५ माघ । विगत तीन वर्षदेखि हिमाली जिल्ला मुस्ताङमा पर्याप्त हिमपात नहुँदा यहाँको कृषि, पर्यटन र जनजीवनमा गम्भीर असर परेको छ। पुस र माघको मुख्य सिजन घर्किसक्दा पनि हिउँ नपरेपछि किसानहरू आफ्नो बालीनाली र स्याउ बगैँचालाई लिएर चिन्तित बनेका छन्।
गत कात्तिकमा माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा सामान्य हिमपात भए पनि त्यो बेमौसमी र अपर्याप्त थियो। हिउँदयाममा हुने हिमपातलाई किसानहरू ‘बरदान’ मान्ने गर्छन्, तर यस वर्ष पनि माघको मध्यसम्म हिउँ नपर्दा उत्पादन घट्ने डर बढेको छ।
घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार हिउँदयामको हिउँले खेतीयोग्य जमिनको भित्री तहसम्म चिस्यान पुर्याउने (रिचार्ज गर्ने) काम गर्छ। “अनुकूल समयमा हिउँ परेमा स्याउ, उवा, जौ र फापर जस्ता बालीको गुणस्तर र उत्पादन बढ्छ,” थकाली भन्नुहुन्छ, “हिउँ नपर्दा जमिनको तापमान बढ्छ र बालीनालीमा रोगकिराको संक्रमण तीव्र हुन्छ। हिउँ त प्राकृतिक विषादी र मल दुवै हो।”
स्थानीय किसान अजित थकालीका अनुसार नदी र खोलाको पानीले सिँचाइ गरे पनि हिउँको जस्तो प्रभाव हुँदैन। हिउँ नपर्दा र सिँचाइको अभाव हुँदा स्याउका बोटहरूमा रोग देखिन थालेको उनको गुनासो छ।
जलवायु परिवर्तनका कारण हिमाली पर्यावरण बदलिएको छ। ८४ वर्षीय वृद्ध ङाचा थकाली विगतलाई सम्झँदै भन्नुहुन्छ, “पहिले दुई फिटसम्म हिउँ पर्थ्यो, अचेल २-३ वर्ष भइसक्यो हिउँको अनुहार देख्न पाइएको छैन।”
जलवायु परिवर्तनकै कारण चैत-वैशाखमा पलाउनुपर्ने स्याउको पालुवा पुस महिनामै पलाउन थालेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन बताउनुहुन्छ। “जमिन तातिँदै गएपछि स्याउ खेती बिस्तारै उकालो (थप उचाइतर्फ) सर्दै गएको छ,” उहाँले भन्नुभयो।
हिउँ नपर्दा मुस्ताङको पर्यटन क्षेत्र पनि सुस्ताएको छ। मुक्तिनाथस्थित होटल ग्राण्ड साम्वलाका सञ्चालक सुरज गुरुङका अनुसार हिउँ खेल्न आउने पर्यटकहरूको संख्यामा भारी गिरावट आएको छ। विगतमा हिउँ पर्दा आयोजना हुने राष्ट्रिय स्की प्रतियोगिता जस्ता कार्यक्रमहरू समेत प्रभावित भएका छन्।
यति मात्र होइन, मुस्ताङको पहिचानका रूपमा रहेका माटो र ढुङ्गाका परम्परागत घरहरू पनि संकटमा परेका छन्। हिउँको सट्टा बेमौसमी वर्षा हुन थालेपछि माटोका घरहरू चुहिने र भत्किने क्रम बढेको छ। स्थानीय नीरज थकालीका अनुसार वर्षाबाट बच्न मानिसहरूले परम्परागत शैली छाडेर कंक्रिटका घर बनाउन थालेका छन्, जसले मुस्ताङको मौलिक संस्कृति र जैविक विविधतामा नकारात्मक असर पुर्याइरहेको छ।