राष्ट्रियसभा निर्वाचन: १७ पदका लागि सातै प्रदेशमा मतदान जारी

काठमाडौं, ११ माघ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको राष्ट्रियसभाका १९ मध्ये १७ सदस्य पदका लागि आज सातै प्रदेशमा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्नेछ ।

रिक्त १९ सिटमध्ये कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । अन्य १७ सिटका लागि आज मतदान प्रक्रिया अघि बढेको हो ।

कुन प्रदेशमा कहाँ हुँदैछ मतदान?
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभरका सात स्थानमा मतदान केन्द्र तोकिएका छन्:

कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय, विराटनगर (मोरङ)
मधेस प्रदेश: महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम (धनुषा)
बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा (मकवानपुर)
गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय, पोखरा (कास्की)
लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही (दाङ)
कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय, वीरेन्द्रनगर (सुर्खेत)
सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय, धनगढी (कैलाली)

यस निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन् । मतदान सकिएलगत्तै गणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।