विद्यालयको बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
नवलपरासी, १२ माघः नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालयको बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयको लु१क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयको नर्सरी कक्षामा अध्ययनरत छात्रा सुश्माकुमारी पासवानको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार विद्यालयको हाताभित्र बस मोड्ने क्रममा बसले किच्दा बालिका गम्भीर घाइते भएकी थिइन् । बाराको कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानकी छोरी सुश्माकुमारीलाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
घटनापछि प्रहरीले बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।