बढी मूल्यका लागि किसानले माघ लागेपछि टिप्न थाले सुन्तला
म्याग्दी, १२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढी मूल्य पाउनका लागि माघ लागेपछि मात्र सुन्तला टिपेर बजार पठाउन थालेका छन् ।
देशका अधिकांश स्थानका बगैँचा रित्तिएपछि बजारमा सुन्तलाको माग बढेकाले यहाँका किसानले ढिलो गरी सुन्तला टिप्न सुरु गरेका हुन् । बेमौसममा बिक्री गर्दा राम्रो भाउ पाइने भएपछि किसानले बोटमै फल सुरक्षित राखेका थिए ।
विगतका वर्षको तुलनामा यसपटक किसानले सुन्तलाको राम्रो मूल्य पाएका छन् । स्थानीय किसान विकास श्रेष्ठका अनुसार यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट (२० किलो) रु एक हजार सात सयमा बिक्री हुने सुन्तला अहिले प्रतिक्रेट रु दुई हजार पाँच सयमा बिक्री भइरहेको छ । उहाँले भन्नुभयो, “अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट रु तीन हजार दुई सयसम्म मूल्य तिर्न तयार छन् । किसानले सस्तोमा बेच्नुपर्ने अवस्था हटाउन हामीले मिलेर मूल्य निर्धारण गरेका छौँ ।”
पोखरा र काठमाडौँका व्यवसायी सुन्तला खरिद गर्न बगैँचामै पुगेपछि अहिले धमाधम टिप्ने काम भइरहेको छ । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेमा गत वर्ष सुन्तला बिक्रीबाट रु एक करोड ६० लाख भित्रिएको थियो । दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले यस वर्ष बोटमा दाना कम लागे पनि मूल्य वृद्धि भएको र नयाँ बिरुवामा फल लागेकाले समग्र आम्दानी गत वर्षकै हाराहारीमा हुने अनुमान गरिएको बताउनुभयो ।
सुन्तला खेतीले स्थानीयको जीवनस्तर उकास्नुका साथै बसाइँसराइ रोक्न पनि मद्दत गरेको छ । अध्यक्ष पाइजाले भन्नुभयो, “पहिले जीविकोपार्जन गर्न कठिन हुने गाउँमा अहिले सुन्तला खेतीले आर्थिक कान्तिको रूप लिएको छ । विगतमा बेनी, पोखरालगायतका ठाउँमा बसाइँ सरेकाहरूसमेत गाउँ फर्किएर बाँझो जग्गामा सुन्तला रोप्न थालेका छन् ।”
विसं २०६८ मा पोखराबाट विज्ञ ल्याएर माटो परीक्षण गरेपछि यहाँ व्यावसायिक सुन्तला खेती सुरु गरिएको थियो । हाल दोसल्लेमा १० हजार सुन्तलाका बोट रहेका छन् । स्थानीय मायादेवी गर्बुजाका अनुसार किसानले धान, मकै, कोदो र भटमासजस्ता परम्परागत बाली लगाउन छाडेर खेतबारीमा सुन्तला विस्तार गरेका छन् । नयाँ बोटले फल दिन थालेकाले आगामी केही वर्षमा गाउँमा सुन्तलाबाट वार्षिक रु तीन करोडभन्दा बढी रकम भित्रिने स्थानीयको अपेक्षा छ ।