मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई बोर्डको आग्रह

काठमाडौँ, १२ माघः स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिमका कागजातसहित मात्र दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ ।

मापदण्डविपरीत स्वास्थ्य बीमाबापतको भुक्तानी दाबी गर्ने क्रम बढेपछि बोर्डले स्वास्थ्य संस्थालाई नै एक समिति बनाई दाबीको पुनरावलोकन गर्न आग्रह गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लले स्वास्थ्य संस्थाबाट प्राप्त हुने विवरणमा धेरै त्रुटि भेटिने गरेकाले संस्थागत रूपमै पुनरावलोकन गरेर मात्र दाबी पठाउन आग्रह गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थाले गर्ने दाबी बापतको रकमलाई पुनः एकपटक त्यही संस्थामा पुनरावलोकन गर्नका लागि समिति बनाउन आग्रह गरेका हौँ ।”

‘स्वास्थ्य बीमा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि–२०८०’ अनुसार दाबी रुजु तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाउन र दाबी अस्वीकृत हुने दर घटाउन सम्बन्धित स्वास्थ्य संस्थाले नै पुनरावलोकन समिति बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । बोर्डले स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व समितिले नै दाबीउपर पुनरावलोकन तथा रुजु गरी त्यसपश्चात् मात्र तोकिएको कागजातसहित पठाउन भनेको छ ।

बोर्डले तोकिएको मापदण्डअनुसार प्राप्त नभएका दाबीको भुक्तानी नगरिने स्पष्ट पारेको छ । सूचना अधिकारी मल्लका अनुसार बोर्डमा दैनिक करिब रु १० करोड बराबरको भुक्तानी दाबी पेस हुने गरेको छ । हालसम्म स्वास्थ्य बीमाबापत विभिन्न स्वास्थ्य संस्थालाई करिब रु १२ अर्ब भुक्तानी गर्न बाँकी रहेको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *