दिउँसो ट्याक्सी चलाउने, राति लुटपाट मच्चाउने १० जना गिरोहको यस्ताे थियाे गतिविधि
काठमाडौँ, १५ माघ । काठमाडौँ र भक्तपुरमा शृङ्खलाबद्ध लुटपाट मच्चाएर सर्वसाधारणलाई त्रसित बनाउने १० जनाको एउटा खतरनाक गिरोहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको ‘अपरेसन स्न्याचिङ’ अन्तर्गत गएराति मूलपानीमा मुठभेडपछि गिरोहका नाइके विनय तामाङसहित १० जना पक्राउ परेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो समूहको काम गर्ने शैली निकै योजनाबद्ध रहेको देखाएको छ । गिरोहका केही सदस्यले दिउँसो ट्याक्सी चलाउने र कुन क्षेत्रमा लुटपाट गर्न सजिलो हुन्छ भनी ‘रेकी’ (निगरानी) गर्ने गर्थे । राति ९ बजेतिर उनीहरू एकै ठाउँमा भेला भएर खाना खान्थे र मध्यरात १२ बजेदेखि बिहान ४ बजेसम्म लुटपाटमा निस्कन्थे ।
काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार उनीहरू तीन–तीन जनाको समूह बनाएर मोटरसाइकलमा निस्कन्थे । पहिचान लुकाउन मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्याप्ने गरेका उनीहरूले लुटपाट सकिएपछि पुनः ट्याक्सी र निजी कार चढेर आफ्नो नियमित दैनिकीमा फर्कने गरेका थिए ।
गिरोहका नाइके २३ वर्षीय विनय तामाङ ‘जेनजी’ आन्दोलनका क्रममा महाराजगन्ज वृत्तको हिरासतबाट भागेका व्यक्ति हुन् । हिरासतबाट उम्किएपछि उनले विभिन्न जिल्लाका युवाहरूलाई समेटेर यो आपराधिक सङ्गठन विस्तार गरेका थिए । विनय यसअघि २०७९ र २०८२ मा पनि चोरी तथा डाँका मुद्दामा संलग्न रहेको प्रहरीको रेकर्ड छ ।
गएको तीन महिनामा काठमाडौँका विभिन्न युनिटमा लुटपाटका उजुरीहरू चाङ लागेपछि प्रहरीले विशेष अप्रेशन चलाएको थियो । बुधबार साँझ ६ बजेदेखि सुरु भएको अप्रेशनका क्रममा मूलपानी क्रिकेट मैदान नजिकै प्रहरीको चेकप्वाइन्ट छल्दै प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली प्रहार गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । गोली लागेका एक सदस्यको अहिले उपचार भइरहेको छ ।
पक्राउ पर्नेहरू र बरामद सामग्री:
१. विनय तामाङ (नाइके) – काभ्रे
२. सलोन तामाङ – काभ्रे
३. राजीव भण्डारी – काभ्रे
४. पेमा तामाङ – काभ्रे
५. आयन माझी (कमाण्डर/बाइक चालक) – सिन्धुली
६. सविन माझी – सिन्धुली
७. मनिस रसाइली – मोरङ
८. विशाल तामाङ – रामेछाप
९. विदुर विश्वकर्मा – खोटाङ
१०. फुर्वा तामाङ – सिन्धुपाल्चोक
प्रहरीले उनीहरूको साथबाट बा १२ च ७७०१ नम्बरको कार, बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी र ६ थान मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीका अनुसार यो समूहले भक्तपुरको ठिमीमा सबैभन्दा धेरै १३ वटा लुटपाटका घटना घटाएको छ । यस्तै स्वयम्भूमा ७, बूढानीलकण्ठ, बौद्ध र गौशालामा ३–३ वटा लुटपाट गरेको खुलेको छ । उनीहरूले विशेष गरी एक्लै हिँडिरहेका महिला तथा पुरुषलाई कुटपिट गरी सुनका गहना र नगद लुट्ने गरेका थिए । पक्राउ परेका सबैविरुद्ध डाँका चोरी र संगठित अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।