रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा: न्यायाधीश मल्ल र निरौलाको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ, माघ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी चढेको छ।

उक्त रिट निवेदनमाथिको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको छ।

लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय कानुनविपरीत रहेको जिकिर गर्दै अधिवक्ता युवराज पौडेल ‘सफल’ ले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमाथि आज सुनुवाइ हुन लागेको हो।

तत्कालीन महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए। उक्त निर्णय बदनियतपूर्ण रहेको र महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर ‘आपराधिक मनसाय नरहेको’ निष्कर्ष निकालेको निवेदकको दाबी छ।

अमेरिकी नागरिक कायमै रहेको अवस्थामा नेपाली नागरिक हुँ भनी झुट्टा विवरण पेश गरेर राहदानी लिनु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कसुर भएको रिटमा उल्लेख छ। निवेदकले लामिछानेले सो राहदानी कुन–कुन समयमा के प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिकाउनुपर्ने माग समेत गरेका छन्।

२०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको अदालतले २०८० जेठ ९ गते महान्यायाधिवक्ता कार्यालयबाट निर्णय फाइल मगाएको थियो। उक्त फाइल प्राप्त भइसकेपछि आज मुद्दा पेशीमा चढेको हो।