यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न नेवार समुदायको साझा ऐक्यबद्धता

काठमाडौँ,  माघ २२ । नेवार समुदायको परम्परागत र मौलिक खाद्य परिकार ‘यमरी’लाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउन सरोकारवाला निकाय र समुदायका प्रतिनिधिहरूबीच साझा सहमति बनेको छ। बुधबार काठमाडौँ महानगरपालिकाको सभा कक्षमा आयोजित सम्पदा तथा पर्यटन समिति र नेवार समुदायका विभिन्न संघसंस्थाबीचको अन्तरक्रियात्मक छलफलमा यस्तो ऐक्यबद्धता व्यक्त गरिएको हो ।

पहिचानको अन्तर्राष्ट्रियकरण
छलफलका क्रममा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले यमरी केवल एक परिकार मात्र नभई नेपालको प्रकृति, कृषि, धर्म र सामाजिक संस्कारसँग जोडिएको अभिन्न अङ्ग भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हरेक शुभकार्यसँग जोडिएको यमरीलाई युनेस्कोमा सूचीकृत गर्नु भनेको नेपालकै पहिचानलाई विश्वस्तरमा स्थापित गर्नु हो। यसले हाम्रा अनगिन्ती अमूर्त सम्पदाहरूको एकीकृत विकासमा टेवा पुर्‍याउनेछ।”

कार्यक्रममा वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सूचीकरणको प्रक्रियालाई निर्धारित समयभित्रै पूरा गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय स्तरमा यमरी बनाउने कलालाई जोगाउन अभिमुखीकरण र प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

सम्पदा संरक्षणमा समुदायको भूमिका
छलफलमा सहभागी ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लव लगायत १९ भन्दा बढी जातीय समाज र संघसंस्थाका प्रतिनिधिहरूले यमरीको ऐतिहासिक र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै महानगरको यो पहलमा पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउनुभयो।

युनेस्कोका अभौतिक सम्पदा विज्ञ डा. मोनालिसा महर्जनका अनुसार, सन् २०१० मा नेपाल पक्ष राष्ट्र बनेको ‘अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धि २००३’ अन्तर्गत यस्ता मौलिक परम्परा, कला कौशल र चाडपर्वहरूलाई संरक्षण एवं प्रवर्धन गर्नु राज्यको दायित्व हो।

सांस्कृतिक महत्त्व र यमरीको विशिष्टता
यमरी नेवारी संस्कृतिमा विशेष गरी धान भित्र्याएपछि नयाँ अन्नबाट बनाइने शुद्ध र मौलिक परिकार हो। चामलको पिठोलाई विशेष आकार दिई भित्र चाकु र तिल (वा कुराउनी) राखेर वाफमा पकाइने यो रोटी बनाउने विधि आफैँमा एक कला हो।

विशेष गरी किसानहरूले आफ्नो श्रमको प्रतिफलका रूपमा प्राप्त अन्न पहिलो पटक देवीदेवतालाई चढाउने र त्यसपछि आफन्तसँग मिलेर खाने परम्पराले यसको सामाजिक सद्भाव र कृतज्ञताको पाटोलाई उजागर गर्दछ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले यस्ता छलफललाई निरन्तरता दिँदै समुदायको सुझावका आधारमा अभौतिक सम्पदाको अभिलेखन र प्रवर्धनका कार्यहरूलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो।