दुर्गा प्रसाईं काठमाडौंको चाल्नाखेलबाट पक्राउ, यस्तो छ कारण
काठमाडौं, २३ माघ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक एवं विवादास्पद व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रविण धितालले प्रसाईंलाई साइबर ब्युरोमा परेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनको विषयमा पत्राचार गरेपछि प्रसाईंलाई नियन्त्रणमा लिइएको हो । “आयोगबाट निर्वाचन आचारसंहिता उल्लंघन र विद्युतीय कारोबारसम्बन्धी विषयमा बुझ्नका लागि पत्राचार भएको थियो,” अवस्थीले भने, “उहाँलाई ल्याएका छौं, अब कानुनी प्रावधान अनुसार थप प्रक्रिया अघि बढ्छ ।”
निर्वाचन आयोगले प्रसाईंविरुद्ध प्रतिनिधिसभा निर्वाचन २०८२ को आचारसंहिताको दफा ४ (ख) बर्खिलाप हुने गरी कार्य गरेको र विद्युतीय कारोबार ऐनको दफा ४७ बमोजिमको कसुर गरेको भन्दै प्रहरीलाई पत्र लेखेको थियो ।
आचारसंहिताको उक्त दफामा ‘आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा लगायतका कार्यक्रममा अवरोध पुर्याउन नहुने तथा निर्वाचनसँग सम्बन्धित सूचना वा सामग्री बिगार्न वा थपघट गर्न नहुने’ उल्लेख छ । प्रसाईंले सोही व्यवस्थाको उल्लंघन गरेको आयोगको ठम्याइ छ ।