वीरगञ्जमा सामान्य विवादमा वृद्धको हत्या: पार्किङको विषयमा कुटपिट हुँदा ६५ वर्षीय बरईको ज्यान गयो

पर्सा, २३ माघ । वीरगञ्जमा मोटरसाइकल पार्किङको सामान्य विवादले उग्र रूप लिँदा एक वृद्धको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित कर्बोला अगाडि पार्किङको विषयलाई लिएर भएको झगडा र कुटपिटमा परी ६५ वर्षीय केपी चन्द राउत बरईको मृत्यु भएको हो ।

झगडाका क्रममा विपक्षीको प्रहारबाट गम्भीर घाइते भएका बरईलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार उपचारकै क्रममा बरईको निधन भएको हो ।

प्रहरीले वृद्धमाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बस्ने ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादव रहेका छन् ।
यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । a