जनकपुरधाममा निर्वाचन आचारसंहिताको ‘डण्डा’ : १५ सयभन्दा बढी अवैध प्रचार सामग्री प्रहरीले हटायो

धनुषा, २५ माघ । निर्वाचन आचारसंहिताविपरीत जनकपुरधामका सार्वजनिक स्थलहरूमा राखिएका १५ सयभन्दा बढी प्रचार सामग्री प्रहरीले हटाएको छ। पटक-पटकको आग्रहलाई राजनीतिक दल र उम्मेदवारहरूले बेवास्ता गरेपछि प्रहरी आफैँले ती सामग्री हटाउन सुरु गरेको हो।

शनिबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा गरिएको विशेष अनुगमनका क्रममा बिजुलीका पोल, सार्वजनिक पर्खाल र सरकारी संरचनामा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर र झण्डाहरू जफत गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमका अनुसार अनुगमनका क्रममा सबैभन्दा बढी आचारसंहिता उल्लङ्घन गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाइएको छ। “सार्वजनिक स्थानमा निषेध गरिएका सामग्री नहटाएपछि हामीले अप्रेशन नै चलाएर १५ सयभन्दा बढी सामग्री हटाएका छौँ,” डीएसपी बमले भन्नुभयो, “अनुगमनमा रास्वपाका प्रचार सामग्री सबैभन्दा धेरै भेटिएका छन्।”

यसअघि निर्वाचन कार्यालयले सम्बन्धित दल र उम्मेदवारहरूलाई आफैँ प्रचार सामग्री हटाउन निर्देशन दिएको थियो। तर, सो निर्देशनको पालना नभएपछि प्रहरीले एक्सन लिएको हो।

निर्वाचन कार्यालयले आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराउँदै नियम मिच्ने उम्मेदवार र दलमाथि कानुनी कारबाही हुने चेतावनी दिएको छ। आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने र उल्लंघन दोहोरिए कडा कदम चालिने स्थानीय प्रशासनले स्पष्ट पारेको छ। निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचनका लागि सबै पक्षलाई जिम्मेवार बन्न प्रशासनले अपिल समेत गरेको छ।