दार्चुलामा प्रहरी हवल्दारको शङ्कास्पद मृत्यु, दुई जना पक्राउ

दार्चुला, २७ माघ । दार्चुलामा एक प्रहरी हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडस्थित सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती सोमबार राति मृत फेला परेका हुन् ।

मृतक घर्तीको टाउको र निधारमा गहिरो चोट देखिएकाले घटनालाई शङ्कास्पद मानिएको छ । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार घटनाको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएको छ र सोही आधारमा अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

महाकाली नगरपालिका–४ का स्थायी बासिन्दा रहेका घर्तीको शव परीक्षणका लागि हाल जिल्ला अस्पताल दार्चुला पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौरव महतले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको र घटनाबारे सूक्ष्म अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।