निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा : १,२४६ मतदानस्थल ‘अतिसंवेदनशील’

जनकपुरधाम, १७ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशका आठवटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न तथा आचारसंहिता उल्लङ्घन हुन नदिन प्रदेशभर विशेष सुरक्षा रणनीति लागू गरिएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।

निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि रोक्न प्रदेशसँग जोडिएका नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा गस्ती र निगरानी बढाइएको छ। नाकाहरूमा ‘चेक प्वाइन्ट’ खडा गरी कडा जाँच भइरहेको प्रहरीले जनाएको छ। सम्पूर्ण जिल्लाका मतदान केन्द्रहरूको सुरक्षा प्रबन्धबारे स्थलगत अनुगमन र निरीक्षण कार्यसमेत सम्पन्न भइसकेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार, प्रदेशभर रहेका कुल २,१६० मतदानस्थलमध्ये १,२४६ (झन्डै ५८ प्रतिशत) मतदानस्थललाई ‘अतिसंवेदनशील’ सूचीमा राखिएको छ। विशेषगरी भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल सुरक्षाका दृष्टिकोणले बढी जोखिमपूर्ण मानिएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले भने, “सबै जिल्लाका सुरक्षा समितिले गरेको सूक्ष्म अध्ययन र विश्लेषणका आधारमा मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको हो। सोहीअनुरूप सुरक्षा तैनाथी र गस्तीको योजनाबद्ध तयारी अघि बढाएका छौँ।”

तथ्याङ्कअनुसार मधेसका ३२ वटा निर्वाचन क्षेत्रमध्ये १,२४६ मतदानस्थल अतिसंवेदनशील, ७५५ संवेदनशील र १५९ वटा मात्र सामान्य अवस्थामा रहेका छन्।

यस प्रदेशमा जम्मा ४,४७१ मतदान केन्द्र तोकिएको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी कुल १,०२८ जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्।

त्यसैगरी, मधेस प्रदेशमा कुल ३५ लाख १७ हजार १२३ मतदाता रहेका छन्। जसमध्ये पुरुष मतदाताको सङ्ख्या १९ लाख ५ हजार ८१९ र महिला मतदाताको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको निर्वाचन कार्यालयको तथ्याङ्क छ।