भोलिको निर्वाचनका लागि देशैभर तयारी पूरा : सुरक्षा व्यवस्था कडा, सबै मतदानस्थलमा पुगे कर्मचारी र मतपत्र

काठमाडौँ, २० फागुन । गृह मन्त्रालयले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र सुरक्षा तयारी पूरा भएको जनाएको छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार बिहान मन्त्रालयले देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग भर्चुअल बैठक गरी वस्तुस्थितिबारे जानकारी लिएको हो ।

गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकले सबै जिल्लामा निर्वाचनको सुरक्षा र व्यवस्थापनका कामहरू सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको तयारीबारे रिपोर्टिङ गरेका थिए । जसअनुसार निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतपत्रसहितका सबै निर्वाचन सामग्रीहरू सम्बन्धित मतदानस्थलमा पुगिसकेका छन् । मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार अहिले देशैभरको सुरक्षा अवस्था सामान्य र नियन्त्रणमा रहेको छ ।

बैठकमा गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई थप मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभयो । उहाँले मतदानका दिन हुन सक्ने सानातिना घटनाप्रति पनि चनाखो रहन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन भन्नुभएको छ ।
“निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कुनै पनि कसर बाँकी नराख्नुहोस्,” सचिव श्रेष्ठले भन्नुभयो, “केन्द्र र जिल्लाबीचको समन्वयलाई थप चुस्त बनाउँदै भोलिको मतदान कार्यलाई सफल पार्नुपर्नेछ ।”

बैठकले निर्वाचनको दिन अपनाउनुपर्ने विशेष सतर्कता र सुरक्षा रणनीतिका विषयमा समेत छलफल गरेको छ । मतदान केन्द्रहरूको सुरक्षा वर्गीकरणअनुसार थप सुरक्षा फौज परिचालन गर्ने र कुनै पनि अप्रिय घटना हुन नदिन मोबाइल गस्तीलाई तीव्र बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

भोलि फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभाका लागि देशभर एकैसाथ मतदान हुँदैछ । गृह मन्त्रालयले आम मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अपिल समेत गरेको छ ।