महोत्तरीमा १०९ किलो गाँजासहित भारतीय कार नियन्त्रणमा, चालक फरार
महोत्तरी, १ चैत्र । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट प्रहरीले १०९ किलो गाँजासहित एउटा भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ। भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले उक्त परिमाणको लागुऔषध बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माका अनुसार गएराति करिब ११ बजे रामगोपालपुर–८ स्थित सहसौला चोक नजिकबाट ‘डिएल १ सीओ ५८६९’ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो। जाँचका क्रममा कारभित्र २० वटा पोकामा लुकाएर राखिएको अवस्थामा १०९ किलो गाँजा फेला परेको थियो।
पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजाको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट संयुक्त प्रहरी टोली खटिएको थियो।
प्रहरीका अनुसार कारका चालक भने फरार रहेका छन्। बरामद गरिएको गाँजा र कारलाई नियन्त्रणमा लिई फरार चालकको तदारुकताका साथ खोजी भइरहेको छ भने यस सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको एसपी शर्माले जानकारी दिनुभयो।