गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न रूपन्देहीका व्यवसायीको जोड

भैरहवा, २ चैत । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन नभएको भन्दै रूपन्देहीका उद्योगी–व्यवसायीले तत्काल नियमित उडानको माग गरेका छन् । विमानस्थल सञ्चालनमा देखिएको अन्योलले यस क्षेत्रको पर्यटन र औद्योगिक क्षेत्रमा गरिएको अर्बौको लगानी जोखिममा परेको उनीहरूको गुनासो छ ।

पर्यटन व्यवसायी अमित गुप्ताका अनुसार विमानस्थललाई लक्षित गरी रूपन्देही र आसपासको पर्यटन क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । “पूर्वाधार तयार छ, लगानी पनि ठूलो छ, तर अपेक्षित रूपमा अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको छ,” गुप्ताले भन्नुभयो ।

लुम्बिनी, देवदह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र बौद्ध सभ्यता र ऐतिहासिक महत्वका गन्तव्य हुन् । यी क्षेत्रको विश्वव्यापी प्रवर्द्धनमा विमानस्थलले सेतुको काम गर्ने अपेक्षा गरिए पनि सरकारका तर्फबाट प्रभावकारी पहल हुन नसकेको व्यवसायीहरूको ठम्याइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब बन्ने नयाँ सरकारले विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्र बौद्ध सभ्यताको केन्द्र हो । विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटन मात्र होइन, समग्र आर्थिक गतिविधिमै कायापलट हुनेछ ।” उहाँले स्थिर सरकार गठन भएपछि लगानीमैत्री वातावरण बन्नेमा निजी क्षेत्र आशावादी रहेको उल्लेख गर्नुभयो ।

नेपाल भन्सार एजेन्ट सङ्घ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रूपन्देहीलाई महत्वपूर्ण औद्योगिक हबका रूपमा विकास गर्न विमानस्थल र नाका व्यवस्थापनलाई एकीकृत रूपमा लैजानुपर्नेमा जोड दिनुभयो । भैरहवा औद्योगिक करिडोरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन कार्गो उडान र आवश्यक पूर्वाधार निर्माणमा नयाँ सरकारको ध्यान जानुपर्ने उहाँको भनाइ छ ।

निजी क्षेत्रका प्रतिनिधिहरूका अनुसार विमानस्थल नियमित सञ्चालन भएमा लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनमा ऊर्जा थपिने मात्र नभई व्यापारिक नाकाको व्यवस्थापनमा समेत सुधार आउनेछ । स्थिर राजनीतिक वातावरण र पूर्वाधारको अधिकतम प्रयोगले मात्र मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सकिने उनीहरूको साझा निष्कर्ष छ ।