भोजपुरमा रुद्राक्ष खेतीबाट वार्षिक एक अर्बको कारोबार : किसानको आर्थिक अवस्थामा सुधार

काठमाडौँ, चैत ४ । भोजपुरका किसानका लागि रुद्राक्ष खेती आम्दानीको प्रमुख र भरपर्दो स्रोत बनेको छ । विशेष गरी जिल्लाको दिङ्ला क्षेत्रका बासिन्दाले रुद्राक्षलाई मुख्य पेसाका रूपमा अपनाएसँगै यसबाट वार्षिक करोडौँ रुपैयाँ जिल्ला भित्रिने गरेको छ ।

रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईंका अनुसार भोजपुरमा रुद्राक्षको कारोबारबाट वार्षिक करिब एक अर्ब रुपियाँ बराबरको आर्थिक गतिविधि हुने गरेको छ । रुद्राक्षको गुणस्तर, आकार र दुर्लभ मुखका आधारमा यसको मूल्य निर्धारण हुने गर्दछ । अध्यक्ष चापागाईंले भन्नुभयो, “राम्रो आकारको एउटै २१ मुखे रुद्राक्ष ५५ लाख रुपियाँदेखि ६० लाख रुपियाँसम्ममा बिक्री हुने गरेको छ । यस वर्ष दिङ्ला क्षेत्रमा अत्यन्तै दुर्लभ मानिने २९ मुखे रुद्राक्ष समेत फलेको छ ।”

तथ्याङ्कअनुसार गत वर्ष भोजपुरबाट करिब २१ लाख किलो रुद्राक्ष बिक्री भएको थियो । जसमध्ये ६ लाख किलो चीन निर्यात गरिएको थियो भने बाँकी परिमाण भारतीय बजारमा खपत भएको छ । पछिल्लो समय नेपाली रुद्राक्षको माग युरोप र अमेरिकामा समेत बढ्दै गएको व्यवसायीहरू बताउँछन् । हाल जिल्लाका करिब ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो खेतीमा आबद्ध रहेका छन् ।

भोजपुरमा रुद्राक्ष खेतीको इतिहास निकै पुरानो छ । विसं १९३२ मा बालागुरु षडानन्द अधिकारीले भारतको काशीबाट बिरुवा ल्याएर दिङ्लामा वृक्षरोपण गरेपछि यसको विस्तार भएको मानिन्छ । अहिले षडानन्द नगरपालिकाका नेपालेडाँडा, कुदाकाउले, देउराली, मुलपानी, केउरेनीपानी लगायतका क्षेत्र रुद्राक्ष उत्पादनका मुख्य केन्द्र बनेका छन् ।

धार्मिक एवं आध्यात्मिक महत्त्व रहेको रुद्राक्ष खरिद गर्न चिनियाँ तथा भारतीय व्यापारीहरू किसानको घरदैलोमै पुग्ने गरेका छन् । संखुवासभाको खाँदबारी र तुम्लिङटार यसको प्रारम्भिक व्यापारिक केन्द्रका रूपमा रहेका छन्, जहाँबाट रुद्राक्ष काठमाडौँ हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गर्दछ ।

रुद्राक्ष खेतीबाट मनग्य लाभ भइरहे तापनि सुरक्षा र व्यवस्थापनमा भने चुनौती देखिएको छ । बहुमूल्य दानाहरू बोटबाटै चोरी हुने र बोट काटिदिने जस्ता समस्याले किसानहरू चिन्तित छन् । रुद्राक्ष खेतीलाई थप व्यवस्थित बनाउन, सुरक्षा प्रत्याभूति गर्न र वैज्ञानिक बजार व्यवस्थापन गर्न सके यसले जिल्लाको समग्र आर्थिक विकासमा अझ ठूलो योगदान पुर्‍याउने स्थानीय सरोकारवालाहरूको भनाइ छ ।