काठमाडौँबाट शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटना
खोटाङ, ४ चैत । काठमाडौँबाट शव बोकेर खोटाङ पुगेको एक हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको छ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित बालाबेसीमा अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।
खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनाको पुष्टि गर्दै हेलिकप्टरमा रहेका सबै सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँबाट एक व्यक्तिको पार्थिव शरीर लिएर गाउँ पुगेको हेलिकप्टर अवतरणका क्रममा प्राविधिक समस्याका कारण दुर्घटनामा परेको हो ।
केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईका अनुसार हेलिकप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको हो । “सुरुमा बारीको डिलमा अवतरण गर्न लागेको हेलिकप्टरलाई पुनः उठाएर अलि सुरक्षित ठाउँ (बारीको बीच भाग) मा लैजान खोज्दा अनियन्त्रित भई दुर्घटना भएको देखिन्छ,” अध्यक्ष राईले भन्नुभयो ।
दुर्घटनापछि हेलिकप्टरमा क्षति पुगेको बताइएको छ । घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको टोली पुगिसकेको छ । हेलिकप्टर कुन कम्पनीको हो र दुर्घटनाको ठ्याक्कै प्राविधिक कारण के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।