मध्यपूर्वमा युद्ध: ९ सयभन्दा बढीको मृत्यु, विश्वव्यापी सङ्कटको सङ्केत, इरानको कडा चेतावनीसहित प्रतिशोधको घोषणा

एजेन्सी, ४ चैत । मध्यपूर्वमा जारी युद्धले क्षेत्रीय सीमा नाघेर विश्वव्यापी प्रभाव पार्ने प्रष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावका कारण अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमै गम्भीर धक्का लाग्ने अवस्था सिर्जना भएको छ ।

इजरायली सेनाले दक्षिणी लेबनानमा आक्रमण तीव्र पारेको छ । बुधबार मात्रै इजरायलले दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई तत्काल थातथलो छाड्न चेतावनी दिँदै इरान समर्थित समूह हिजबुल्लाहविरुद्ध लक्षित आक्रमण सुरु गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि सुरु भएको यो द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ९१२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै बिना चेतावनी बेरुतमा भएका दुई आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

इरानले यो युद्धको असर विश्वव्यापी हुने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विश्वव्यापी प्रतिक्रिया सुरु भइसकेको र यसले सबैलाई असर गर्ने बताउनुभएको छ । यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सुरक्षा प्रमुख अली लारिजानीको मृत्यु भएको पुष्टि गरेको छ । इरानको रिभोलुसनरी गार्ड्सले लारिजानीको हत्याको ‘निर्णायक र खेदजनक बदला’ लिने भन्दै इजरायलतर्फ मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

द्वन्द्वको बाछिटा खाडीका अन्य मुलुकसम्म पुगेको छ । संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कुवेत र कतारले आफ्नो क्षेत्रतर्फ आएका ब्यालेस्टिक मिसाइल र ड्रोनहरू निष्क्रिय पारेको जनाएका छन् । विशेषगरी साउदीले प्रिन्स सुल्तान एयर बेस नजिकै मिसाइल रोकेको छ भने युएईमा अस्ट्रेलियाली सैन्य मुख्यालय नजिक इरानी प्रक्षेप्य खसेको छ ।

विश्व ऊर्जा आपूर्तिका लागि संवेदनशील मानिने होर्मुज जलडमरूमध्य नजिक अमेरिकी सेनाले इरानी क्षेप्यास्त्र केन्द्रहरूमा शक्तिशाली ‘बङ्कर बस्टर’ बम प्रयोग गरी आक्रमण गरेको छ । उता, अमेरिकाभित्रै पनि युद्धलाई लिएर मतभेद देखिएको छ । अमेरिकी राष्ट्रिय आतङ्कवाद विरोधी केन्द्रका निर्देशक जोसेफ केन्टले इरानविरुद्धको युद्धलाई समर्थन गर्न नसक्ने भन्दै राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुलाउन सहयोग नगरेको भन्दै नाटो र बेलायतको आलोचना गर्नुभएको छ ।

यो युद्धमा युक्रेनले पनि आफ्नो भूमिका देखाएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले इरानी डिजाइनका ड्रोनविरुद्ध लड्न २०० भन्दा बढी युक्रेनी विशेषज्ञहरूलाई मध्यपूर्वका विभिन्न देशमा परिचालन गरिएको जानकारी दिनुभएको छ ।

इरानभित्र फारसी नयाँ वर्ष ‘नौरोज’ को अवसरमा सरकारले राष्ट्रव्यापी र्‍याली आह्वान गरेपछि आन्तरिक एकता प्रदर्शनका लागि मानिसहरूको ठूलो भीड सडकमा उत्रिएको छ । घटनाक्रमहरूले यो युद्ध तत्काल रोकिने सङ्केत देखिएको छैन, जसले गर्दा विश्वभर ऊर्जा सङ्कट र सुरक्षा चिन्ता थप बढ्ने निश्चित देखिएको छ ।