सेयर बजारमा झिनो सुधार: नेप्से ५ अंकले बढ्दा साढे ४ अर्बको कारोबार
काठमाडौँ, २० साउन । नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेको छ । नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६० अंकले बढेर ४६७.३६ विन्दुमा कायम भएको छ ।
परिसूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ । आज विभिन्न कम्पनीका कुल १ करोड ६७ हजार ७३२ कित्ता सेयर ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँमा खरिदबिक्री भएको छ । यद्यपि, बजारका अन्य सूचकहरू फ्लोट परिसूचक ०.०३ अंक र सेन्सेटिभ फ्लोट परिसूचक ०.३० अंकले घटेका छन् ।
आज कारोबार भएका कुल १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचकमा गिरावट आएको छ । नेप्सेका अनुसार: बढ्ने कम्पनी: १२२ घट्ने कम्पनी: १४३ स्थिर रहेका: ११ छन् ।
आजको कारोबारमा सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यता, एभरेष्ट कलर लिमिटेड, कामना सेवा विकास बैंक डिबेञ्चर र मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।
बजारमा उतारचढावका बीच खरिदबिक्री रकम साढे ४ अर्ब नजिक पुग्नुलाई लगानीकर्ताहरूले सकारात्मक रूपमा लिएका छन् ।