नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते, सिंहदरबारमा अस्थायी हल निर्माण गरिँदै

काठमाडौँ, ४ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गतेका लागि तय गरिएको छ। सङ्घीय संसद् सचिवालयले सिंहदरबारभित्र नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने अन्तिम तयारी गरिरहेको छ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत १२ गते शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने गरी व्यवस्थापन भइरहेको छ। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार भइनसकेकाले त्यहीँभित्रको एक बहुउद्देश्यीय हललाई ‘अस्थायी संसद् हल’ का रूपमा व्यवस्थापन गरिएको हो।

तयारी अन्तिम चरणमा
शपथ ग्रहणका लागि तोकिएको अस्थायी हलमा माइक, लाइटिङ (बत्ती) र सिट व्यवस्थापनलगायतका प्राविधिक कामहरू धमाधम भइरहेका छन्। सचिवालयले यो कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्रै हल पूर्ण रूपमा तयार हुने जनाएको छ।

केही समयअघि भएको ‘जेनजी आन्दोलन’ का क्रममा पुरानो संसद् भवनमा आगाे लगाएर क्षति गरिएपछि संसद् बैठक र शपथका लागि वैकल्पिक स्थानको आवश्यकता परेको हो। नयाँ भवनको मुख्य बैठक हल तयार हुन अझै केही समय लाग्ने भएपछि सोही परिसरको बहुउद्देश्यीय हललाई प्रयोगमा ल्याउन लागिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो।

चैत १२ गतेको शपथ ग्रहणपछि नयाँ संसद्को अधिवेशन आह्वान र सरकार गठनको संवैधानिक प्रक्रियाले गति लिनेछ। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै मुलुकको ध्यान अब नयाँ संसद् र नेतृत्व चयनतर्फ केन्द्रित भएको छ।