संसदीय दलको व्यवस्थापनबारे छलफल गर्न संसद् सचिवालयले बोलायो ६ दलका प्रतिनिधि

काठमाडौं, ५ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक भएसँगै सङ्घीय संसद् सचिवालयले नयाँ संसद्‌मा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ ।

सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार, नवनिर्वाचित सांसदहरूका लागि संसदीय दलको कार्यालय व्यवस्थापन, कार्यालयमा आवश्यक कर्मचारी र सेवा–सुविधाका विषयमा छलफल गर्न दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।

यसका साथै, प्रतिनिधिसभा र राष्ट्रिय सभाको नयाँ बैठकस्थल (संसद् भवन) निर्माणाधीन अवस्थामा रहेकाले भौतिक संरचनाको वर्तमान अवस्थाबारे जानकारी गराउन र सुरुवातका केही समय हुन सक्ने असुविधाबारे पूर्वजानकारी दिन पनि दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार, नयाँ संसद्‌मा राष्ट्रिय श्रम संस्कृति पार्टीबाहेक अन्य पाँचवटा दलहरू यसअघि पनि संसद्‌मा प्रतिनिधित्व गरिसकेका दल हुन् । जसमध्ये सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले विगतदेखि प्रयोग गर्दै आएका संसदीय दलका कार्यालयहरू नै यथावत् रहनेछन् ।

तर, यसपटकको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्‌मा ठूलो दलका रूपमा उपस्थिति जनाउने भएपछि उसलाई हालको कार्यालय साँघुरो हुने देखिएको छ । संसद् सचिवालय स्रोतका अनुसार, रास्वपालाई हाल नेकपाले प्रयोग गर्दै आएको फराकिलो कार्यालय उपलब्ध गराउने र रास्वपाले प्रयोग गर्दै आएको पुरानो कार्यालय उक्त कम्युनिस्ट पार्टीलाई दिने तयारी छ । यद्यपि, यसबारे सम्बन्धित दलहरूसँग औपचारिक सहमति भने भइसकेको छैन ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पुरानै संसदीय दलको कार्यालय प्रयोग गर्नेछ । यसअघिको संसद्‌मा रहेका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका केही दल यसपटक राष्ट्रिय दल बन्न नसकेका कारण उनीहरूले प्रयोग गर्दै आएका कार्यालय खाली हुनेछन् । ती खाली भएका कार्यालयहरूमध्ये कुनै एक कार्यालय नागरिक उन्मुक्ति पार्टी वा संसद्‌मा नयाँ प्रवेश गरेको दललाई उपलब्ध गराउने सचिवालयको आन्तरिक तयारी छ ।

सचिवालयले आजको बैठकमा दलका प्रतिनिधिसँगको छलफल र सहमतिका आधारमा संसदीय दलका कार्यालयहरू अन्तिम रूपमा बाँडफाँट गर्ने जनाएको छ ।