पश्चिमी वायुको प्रभाव : काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात
काठमाडौँ, चैत १० । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा आज वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी तथा हिमाली भू-भागमा वर्षासँगै केही स्थानमा असिनापानी, हिमपात र हुरीबतास समेत चलेको छ ।
विभागको वर्षामापन केन्द्रको पछिल्लो विवरण अनुसार काठमाडौँमा एक घण्टाको अवधिमा १.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । पछिल्लो एक घण्टामा झापामा सबैभन्दा बढी ९.४ मिलिमिटर वर्षा भएको छ भने विगत तीन घण्टाको तथ्याङ्क अनुसार तनहुँमा २४.६ र झापामा १२.२ मिलिमिटर वर्षा भएको छ ।
यसैगरी ताप्लेजुङ, भोजपुर, नुवाकोट, लमजुङ, गोरखा, कास्की र कालीकोट लगायतका जिल्लाहरूमा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको आज साँझ ६ बजे जारी बुलेटिनमा उल्लेख छ ।
भोलिको मौसम पूर्वानुमान
विभागका अनुसार बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहने छ । तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।