मिथिला क्षेत्रमा वासन्ती छठको रौनक : अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

काठमाडौँ, चैत १० । तराई–मधेससहित मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वसन्तकालीन (चैती) छठ पर्वअन्तर्गत आज मङ्गलबार बर्तालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझिया अरख’ विधि सम्पन्न गरेका छन् । सूर्य उपासनाको यो महापर्वको तेस्रो दिन आज साँझ ६:१६ मिनेटको शुभ साइतमा बर्तालुहरूले पवित्र जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई पूजा सामग्री अर्पण गरेका हुन् । यसअघि गत आइतबार चैत शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ र सोमबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको थियो ।

मिथिला कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झाका अनुसार भोलि बुधबार बिहान ६:०५ मिनेटमा उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य अर्थात् ‘भोरका अरख’ दिएपछि चार दिने यो पर्व विधिवत् रूपमा समापन हुनेछ । समापनको विधिलाई स्थानीय भाषामा ‘पारन’ समेत भनिन्छ ।

वसन्त ऋतुमा मनाइने भएकाले यसलाई ‘वासन्ती छठ’ वा ‘चैती छठ’ भन्ने गरिएको हो । शरद ऋतुको कात्तिकमा मनाइने छठ जत्तिकै ठूलो संख्यामा नभए पनि मिथिला क्षेत्रमा यो पर्व विशेष आस्थाका साथ मनाइन्छ ।

बर्तालुहरूले यो पर्वमा अत्यन्तै निष्ठाका साथ निराहार व्रत बसी फलफूल, ठकुवा (गहुँको पिठोबाट निर्मित पकवान), भुसुवा (कसार) लगायतका प्रसाद सामग्री जलाशयमा लगेर सूर्यलाई देखाउने गर्दछन् । यो व्रत गर्नाले सन्तान प्राप्ति, पारिवारिक सुख र विशेषगरी छालारोग व्याधिबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ ।

धार्मिक मान्यता अनुसार द्वापर युगमा श्रीकृष्णका पुत्र साम्बले कुष्ठरोग निवारणका लागि सूर्यको उपासना गरेदेखि यो पर्वको परम्परा सुरु भएको मानिन्छ । साथै, महाभारत कालमा पाण्डवहरूले आफ्नो गुप्तवासको सफलताका लागि र सती अनुसुइयाले समेत सूर्यको आराधना गरेको प्रसङ्ग यस पर्वसँग जोडिएको छ ।