अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’ मा काठमाडौँ विश्वविद्यालय १२२ औँ स्थानमा
काठमाडौँ, १० चैत । संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले गरेको ‘एचई उच्च शिक्षा र्याङ्किङ’ मा काठमाडौँ विश्वविद्यालय (केयू) विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको सूचीमा १२२ औँ स्थानमा पर्न सफल भएको छ। विश्वभरका ९५ देशका ५०७ विश्वविद्यालय सहभागी यस मूल्याङ्कनमा केयूले यो उपलब्धि हासिल गरेको हो।
विश्वविद्यालयको उच्च शिक्षामा पार्ने प्रभाव र कार्यक्षमता मापन गर्न २५ वटा मुख्य मापदण्ड र १३६ वटा विस्तृत सूचकहरूको प्रयोग गरिएको थियो। यो र्याङ्किङ विशेषगरी दक्षिण एसिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनमा केन्द्रित रहेको जनाइएको छ।
उक्त संस्थाले विश्वविद्यालयको वास्तविक सञ्चालन प्रक्रिया, नीति, सेवा र परिणामका आधारमा तथ्यपरक मूल्याङ्कन गरेको हो। र्याङ्किङका लागि निम्न सूचकहरूलाई मुख्य आधार मानिएको थियो:
समावेशिता र समानता
दिगो विकास र सामाजिक प्रभाव
शैक्षिक पारदर्शिता र उत्तरदायित्व
अनुसन्धान प्रणाली र डिजिटल पहुँच
क्याम्पस सुरक्षा र अन्तर्राष्ट्रियकरण
मूल्याङ्कन प्रतिवेदनका अनुसार काठमाडौँ विश्वविद्यालयले सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक निष्ठा र भविष्य उन्मुख योजनाहरूमा विशेष सबल पक्ष देखाएको छ।
‘एचई उच्च शिक्षा र्याङ्किङ’ की सचिव नूरा अब्दुलजलीलले विश्वविद्यालयलाई इमेल पठाउँदै यो सफलता नेतृत्व, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सामूहिक शिक्षाप्रतिको प्रतिबद्धताको परिणाम भएको उल्लेख गर्नुभएको छ। उहाँले यो उपलब्धिले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रति केयूको अटल लगाव झल्काउने बताउनुभयो।
काठमाडौँ विश्वविद्यालय, शैक्षिक उत्कृष्टता निर्देशनालयका प्रमुख प्रा. डा. हेमराज काफ्लेले यस प्रतिवेदनले विश्वविद्यालयको संस्थागत सञ्चालनबारे महत्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार यो मूल्याङ्कनले विश्वविद्यालयको सञ्चालन प्रणाली सुदृढ गर्न र आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय र्याङ्किङहरूमा सहभागी हुन आवश्यक तथ्याङ्क व्यवस्थापनमा मद्दत पुर्याउनेछ।