पर्वतमा रुखले च्यापिएर एक वृद्धको मृत्यु

काठमाडौँ, चैत १० ।  पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर ७५ वर्षीय एक वृद्धको मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको ‘दगदगे’ जातको रुख काट्ने क्रममा सोही रुखले थिचिएर स्थानीय पूर्णबहादुर दर्जीको आज दिउँसो मृत्यु भएको हो । रुखले च्यापिएर गम्भीर घाइते भएका दर्जीलाई तत्काल उपचारका लागि पर्वतस्थित प्रदेश अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार घाइतेलाई दिउँसो ४:३० बजे अस्पताल ल्याइपुर्‍याइएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र बाच्छा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।