आइटिएफ एसिया यु–१२ टेनिसका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ, चैत १० । आगामी अप्रिलमा आयोजना हुने ‘आइटिएफ एसिया यु–१२ टिम कम्पिटिसन’ (दक्षिण एसियाली क्षेत्रीय छनोट) का लागि नेपालबाट ६ जना खेलाडी छनोट भएका छन् ।
नेपाल टेनिस सङ्घको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सम्पन्न छनोट प्रतियोगिताबाट तीन छात्र र तीन छात्रा खेलाडीको अन्तिम नामावली तय गरिएको हो ।
सङ्घका अनुसार पुरुष (छात्र) तर्फ आरित मल्ल, सभ्यजङग कार्की र सहंश बस्नेत छनोट भएका छन् । यसैगरी, महिला (छात्रा) तर्फ सारा पन्त, आर्या पौडेल र नायरासिं घले छनोट हुन सफल भएका छन् । उक्त छनोट प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ छ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
नेपाल टेनिस सङ्घका कार्यालय सचिव प्रवीण देवकोटाका अनुसार दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि १७ तारिख (चैत ३१ देखि वैशाख ५) सम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समै सञ्चालन हुनेछ ।