प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज शपथ लिँदै

काठमाडौँ, ११ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहान ११:१५ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउने कार्यक्रम तय भएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित २७५ जना सदस्यहरूमध्ये उमेरका आधारमा केसी ज्येष्ठ सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसका प्रभावशाली नेता केसी यसपटक समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद निर्वाचित हुनुभएको हो ।

संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपतिबाट शपथ लिएपछि ज्येष्ठ सदस्य केसीले भोलि (बिहीबार) अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउनुहुनेछ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कूल २७५ सदस्य रहेका छन् ।

भोलि चैत १२ गते दिउँसो २:०० बजे सिंहदरबारस्थित संसद् भवनको बहुउद्देश्यीय हलमा अन्य सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।